
काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शैक्षिक केन्द्रको पठनपाठन कुनै पनि बहानामा अवरूद्ध गर्न नहुने बताएकी छन्। टंगालस्थित टंगाल माध्यमिक विद्यालयको ६२ औँ वार्षिकोत्सवको अवसरमा आज (मंगलबार) आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रको प्रगति र समृद्धि शिक्षाको स्तरसँग प्रत्यक्ष रूपमा गाँसिएकाले दक्ष जनशक्ति उत्पादन गर्न राज्यले शैक्षिक संस्थासँग सहकार्य र समन्वय गर्नु आवश्यक रहेको बताइन्।
उनले भनिन्, ‘शिक्षा प्रणालीले विद्यार्थीलाई केवल किताबी ज्ञानमा जीवनोपयोगी सीप, सिर्जनशील सोच विकसित गराउँदै समाज र राष्ट्रप्रति उत्तरदायी नागरिक उत्पादन गर्नुपर्छ। सूचना र प्रविधिको विकासले विश्व एउटा साझा गाउँझैँ बन्न पुगेको अवस्थामा शिक्षाको उद्देश्य केवल प्रमाणपत्र प्राप्त गरे शिक्षित व्यक्तिको उत्पादन सीमित हुनुहुँदैन, हामीले अवसरसँगै आइपर्ने चुनौतीको पनि सामना गर्नुपर्छ।’
उनले गुणस्तरीय शिक्षा र रोजगारीको खोजीमा तीव्र रूपमा विदेशिन बाध्य युवाशक्तिमार्फत नेपालको श्रम, सीपसँगै पुँजी पनि पलायन भइरहेकाले यो अवस्थालाई बदल्न स्वदेशमै गुणस्तरीय शिक्षा, सीपमूलक तालिम र उत्पादनमूलक रोजगारीको अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याइन्।