कार्यकर्ताको नाडी छाम्दै छन् एमाले अध्यक्ष ओली

किरण पौडेल २० जेठ २०८२ २१:४१
72
SHARES
कार्यकर्ताको नाडी छाम्दै छन् एमाले अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफूलाई लोकप्रिय बनाइराख्न अनेक प्रयत्न गर्छन्। कहिले सामाजिक सञ्जालमा डाँडाखोलाको तस्बिर हाल्छन् त कहिले ग्रामीण क्रियाकलापका विषयमा ‘प्रवचन’ दिन्छन्। जो व्यक्ति, जससँग सम्बन्धित छ, त्यसै अनुरूप प्रस्तुत भएर लोकप्रियताको ग्राफ बढाउन चाहने नेताका रूपमा ओली चिनिन्छन्।

भाषणमा मिठास ल्याउन उखान–टुक्का प्रयोग गर्ने ओली विपक्षीको आलोचना गर्न तिखो शैली अपनाउने नेताका रूपमा परिचित छन्। एमाले नेताहरूका अनुसार ओली पार्टीभित्र विविध प्रयोग गर्न रुचाउँछन्। ओलीकै इच्छाले कुनै समय एमालेमा ‘बा’ ट्रेन्ड चलेको थियो। सबै समान हैसियतमा रहने कम्युनिस्ट पार्टीभित्र ‘बा’ भन्ने संस्कार देखिएको भन्दै आलोचना भएको थियो।

एमाले नेता विशाल भट्टराईका अनुसार, त्यतिबेला ‘बा’ पुस्ताले राजनीति छोड्नुपर्छ भन्ने धारणा स्थापित गर्न खोज्दा उल्टै नेताहरूले ओलीलाई ‘बा’ भनेर सम्बोधन गर्न थालेका थिए। उनी भन्छन्, ‘बा उमेरसँग होइन, विचार र ज्ञानसँग सम्बन्धित हुने भएकाले नेताकार्यकर्ताले ‘केपी बा’ भन्न थाले।’

२०७९ को आम निर्वाचनमा ‘केपी बा’ बोलको गीतसमेत सार्वजनिक गरिएको थियो। यद्यपि त्यो अभियान व्यावहारिक रूपमा प्रभावकारी देखिएन। अहिले भने एमालेमा नयाँ ट्रेन्ड आएको छ- ‘म झोले हो’। सामान्यतः राजनीतिमा ‘नकारात्मक’ रूपमा बुझिने ‘झोले’ शब्दलाई कार्यकर्ताहरूले गर्वपूर्वक प्रयोग गर्न थालेका छन्।

‘झोले’ शब्द सामान्यतः कसैप्रति अन्धभक्त, निकटस्थ र गुलामीभाव दर्शाउने अर्थमा बुझिन्छ। तर एमालेभित्रै यसको पुनःपरिभाषा गरिएको छ। अहिले सामाजिक सञ्जालमा ‘म झोले हो’ भन्ने तस्बिरहरू व्यापक रूपमा फैलिएका छन्, जसका कारण अध्यक्ष ओली आलोचना र व्यंग्यको सिकार हुन थालेका छन्।

कसरी आयो ‘कपी पेस्ट’ झोले ट्रेन्ड ?

झोले’ शब्द विवादास्पद त बनेको छ। साथसाथै यसमा नक्कलको आरोप पनि लागेको छ। किनभने भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले अपनाएको ‘मै भी चौकीदार’ अभियानजस्तै देखिन्छ एमालेको ‘म झोले हो’ ट्रेन्ड। मोदीले विपक्षीको आरोप उल्ट्याएर सोही शब्दलाई ब्रान्ड बनाएका थिए। ओलीले पनि त्यसैगरी आलोचनालाई आत्मसात् गर्दै ‘झोले’ लाई सकारात्मक अर्थमा प्रस्तुत गर्न खोजेका छन्।

एमाले नेता भट्टराई भने यो नक्कल नभई पार्टीप्रतिको प्रतिबद्धताको अभिव्यक्ति भएको दाबी गर्छन्।

‘म झोले हो’ ट्रेन्डको सुरुवात केही दिनअघिको एक कार्यक्रममा ओलीले दिएको सम्बोधनपछि भएको हो। नेपाल बुद्धिजीवी परिषद्को महाधिवेशन उद्घाटनमा ओलीले भनेका थिए, ‘म एमालेको झोले हुँ, मलाई त्यसमा गर्व छ। म यो झोलामा देश र जनताको परिवर्तनको चाहना बोकेर हिँड्छु।’ त्यसको दुई दिनपछि ओलीले सामाजिक सञ्जालमार्फत आफ्नो तस्बिरसहित ‘म झोले हो’ अभियानको सुरुवात गरे। उक्त तस्बिरमा लेखिएको छ, ‘म सामन्ती परिवारको दास बन्नुभन्दा देश परिवर्तनको झोला बोकेर हिँड्नु धेरै गुणा उत्तम हो।’

झोले तस्बिरमार्फत कटाक्ष

झोले’ तस्बिर सार्वजनिक गर्दै ओलीले विपक्षीप्रति कटाक्ष गरेका छन्। उनले राजावादी धारालाई लक्षित गर्दै ‘दास’ भन्ने शब्दको प्रयोग गरे। ओलीका अनुसार कुनै परिवारविशेषको राज्यरोहणका लागि ‘दास’ बन्ने परम्पराभन्दा पार्टीको झोले हुनु नै सही हो। एमाले नेता भट्टराई भन्छन्, ‘हामीलाई झोले भन्ने राजावादी हुन्। जोचाहिँ हुँदै नभएको पूर्वराजाको दास बन्छ, त्यही पंक्तिले हामीलाई झोले भन्न सुहाउँदैन।’ उनको भनाइ अनुसार एमाले विधि र पद्धतिबाट चलेको वैधानिक संस्था भएकाले त्यसको ‘झोले’ हुनुमा केही अनौठो छैन।

ओलीविरुद्ध अहिले राजावादी सडकमा छन्। व्यवस्थाकै विरोधमा उत्रिरहेका उनीहरूविरुद्ध ओली बारम्बार कटाक्ष गरिरहेका छन्। ओलीले झोले तस्बिरमार्फत पनि राजावादीविरुद्ध प्रहार गरेका छन्।

एमालेले झोलेको अर्थ आफैँले लगाएको छ। एमाले नेता महेश बस्नेत पार्टीको झोलामा ‘मार्क्सवादी दर्शन-समाज परिवर्तनको वैचारिक नक्सा, लेनिनवादी संगठन- कठोर अनुशासन र केन्द्रित नेतृत्वको बुनियाद, जबजको लोकतान्त्रिक विधि-जनताको सहभागिता र प्रक्रियाको सम्मान, द्वन्द्वात्मक भौतिकवाद र वर्गसंघर्षको चेतना-वैज्ञानिक दृष्टिकोणको जग, गौरवशाली इतिहास-जेल, गोली र बलिदानको कथा’ रहेको बताउँछन्।

उनी एमालेको झोलामा ‘पुष्पलाल, मदन र मनमोहनको मार्गदर्शन-सन्तुलन र सादगी, निडर, अडिग र दूर दृष्टि सम्पन्न नेतृत्व-केपी शर्मा ओली, प्रतिबद्ध कार्यकर्ताको पङ्क्ति-पद होइन, परिवर्तनका लागि राजनीति, जनताको साथ, विश्वास र माया-चुनाव र आन्दोलनको भर’ रहेको दाबी गर्छन्।

‘एमालेको झोलामा ११ वटा दस्ताबेज छन्। जसले देशको भविष्य निर्धारण गर्छ’, बस्नेतले भनेका छन्। नेताहरू एमाले नभई आफूहरू ओलीकै ‘झोले’ भनेकोमा पनि गुनासो गर्न नहुने बताउँछन्। ‘अध्यक्षज्यू (ओली) १८०० भन्दा बढी प्रतिनिधिबाट अध्यक्षमा चुनिनुभएको हो। यदि उहाँकै अध्यक्ष भन्छ कसैले पनि अन्यथा लिनु हुन्न’, भट्टराई भन्छन्।

कार्यकर्ता परीक्षण गर्ने नयाँ विधि!

‘झोले’ तस्बिरमार्फत ओलीले आफूप्रति प्रतिबद्ध नेता-कार्यकर्ता परीक्षण गरेको नेताहरूको बुझाइ छ। नेताहरूका अनुसार एमालेको महाधिवेशन यही वर्षको अन्तिमतिर हुन लागेको छ। राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर ओलीले आफ्ना कार्यकर्ताको परीक्षण गर्न चाहेको बताउँछन्।

‘ओली आफैँ सामाजिक सञ्जालको प्रयोग गर्छन् र प्रविधिमा दक्ष छन्,’ पिटर भन्छन्, ‘उनी आफैँ महाधिवेशनमा कार्यकर्ता खोज्ने क्रममा लागेको देखिन्छ।’ पिटरका अनुसार ओलीले झोलेमार्फत नयाँ तरंग प्रहार गरेका हुन्। ‘ओली आफ्नै कार्यकर्ताको नाडी छाम्दै छन्। कति आफूप्रति बफादार छन् उनी छुट्याउन चाहन्छन्। किनभने ओली शान्त तलाउमा ढुंगा हाल्न तयार छन्’, पिटर भन्छन्। एमाले नेता भट्टराई भने कार्यकर्ता बुझ्न नभई पार्टीप्रतिको लगनशीलता देखाएको दाबी गर्छन्।

‘जति चाकडी, त्यति अवसर’

एमालेको ‘झोले’प्रचारपछि टिप्पणी आइरहेका छन्। एमाले नेता-कार्यकर्ता ‘वाहवाही’ गरिरहँदा राजावादी नेताले कटाक्ष गरिरहेका छन्। राजावादी नेताहरू पनि ओलीप्रति आक्रोशित छन्। एमालेमा ओलीले झोले शब्द प्रयोग गरेर गलत भाष्य तयार गरेको विश्लेषण भइरहेको छ।

एमालेको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’, मार्क्सवाद-लेनिनवादभन्दा विपरीत ‘झोले’ प्रचारले एमालेको विचारमाथि नै प्रश्न उठेको बताउँछन्। राजनीतिक विश्लेषक पिटर ‘झोले’ प्रचारले कार्यकर्तामा गालीसँगै फाइदा रहेको सुनाउँछन्।

‘अहिले राजनीतिमा जति चाकरी गर्‍यो, त्यति फाइदा लिन सकिने समय छ। यस्तो बेला झोले लेखेको तस्बिर लेखेर प्रचार गर्दैमा ओलीसँग नजिक हुन सकिन्छ,’ पिटर भन्छन्, ‘म नेपालगन्जको मान्छे, त्यहाँका तल्लो दर्जाको कार्यकर्ता पनि झोले लेख्ने ट्रेन्ड रहेको छ।’ पिटरका अनुसार झोले लेखाइपछि कार्यकर्तामा स्वार्थ लिन सकिने बुझाइ छ।

भाषा नबिगारून् ‘झोले’हरूले!

प्रकाशित: २० जेठ २०८२ २१:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast