
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा प्रतिपक्षीले राखेको विषयमा प्रधानमन्त्री गम्भीर हुनुपर्ने बताएका छन्।
संसद् भवन नयाँ बानेश्वरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले सरकारको कमजोरी उठान गर्नु प्रतिपक्षी दलको कर्तव्य भएकाले उनीहरुले राखेको विषयलाई प्रधानमन्त्रीले गम्भीर भएर संवाद गर्नुपर्ने बताएका हुन्।
शर्माले भिजिट भिसा प्रकरणमा गहिरोसँग अनुसन्धान हुनुपर्ने र त्यसमा मुछिएका सबैमाथि छानबिन हुनुपर्ने बताए। शर्माले यस सन्दर्भमा अख्तियारले गृहमन्त्रीमाथि अनुसन्धान गरे स्वाभाविक रुपमा पद त्याग गर्नुपर्ने भए पनि अहिले कर्मचारीमाथि मात्रै अनुसन्धान भइरहेको उल्लेख बताए।
कर्मचारीमाथि अनुसन्धान भइरहँदा उजुरी नै नपरेको गृहमन्त्रीको राजीनामा माग गर्नु उचित नभएको उनको भनाइ छ। शर्माले अघिल्लो गृहमन्त्रीको प्रकरणलाई गाँसेर सदनमा आवेग प्रकट हुन खाजेको जस्तो देखिएको बताए।
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि कुनै प्रश्न र उजुरी नपरेको अवस्थामा राजीनामा माग गरेर प्रतिपक्षी अप्ठेरोमा परेको बताए। उनले दलहरुबीच मंगलबार भएको छलफलमा प्रतिपक्षी दलले राजीनामा भन्दा पनि छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिएको जानकारी दिए। शर्माले छानबिन समिति गठन गरे पनि त्यसको प्रतिवेदन अख्तियारलाई नै दिनुपर्ने र अहिले अख्तियारले नै सोही मुद्दामा अनुसन्धान गरिरहेकाले पहिला अख्तियारको अनुसन्धान प्रतिवेदनलाई पर्खनुपर्नेमा आफुहरुको जोड रहेको धारणा राखे।
घिमिरेले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने माग जायज नरहेको स्पष्ट पारे।