जेन-जी : युवकहरू दक्षिणपन्थी, युवतीको आकर्षण वामपन्थतर्फ

हिमाल प्रेस २१ जेठ २०८२ ११:२७
18
SHARES
जेन-जी : युवकहरू दक्षिणपन्थी, युवतीको आकर्षण वामपन्थतर्फ

काठमाडौँ-  जेन-जी पुस्ता (सन् १९९० देखि सन् २०१० सम्म जन्मेका)  अधिकांश युवक दक्षिणपन्थी विचारतर्फ झुकेका छन् भने युवतीहरू वामपन्थी विचारको समर्थन गरिरहेको पाइएको छ। राजनीतिमा यस्तो अन्तर एक देशमा मात्र होइन, एसियासहितका पश्चिमी देशहरूमा पनि प्रस्ट देखिएको छ। पर्यवेक्षकहरूका अनुसार यस्ता पुरुषहरू आफूलाई पछि परेको अनुभव गर्न थालेका छन्। उनीहरू त्यसको दोष विविधतालाई दिन्छन्। युवतीहरूका अनुसार भने अहिले रोजगारीका अवसरमा समानता आउँदै छ।

दक्षिण कोरियाको चुनावमा महिलाको आक्रोश

दक्षिण कोरियाको निर्वाचनमा युवतीहरूले रूढिवादी पार्टीविरूद्ध मतदान गर्ने बताएका थिए। महिनौँदेखि चलिरहेको अस्थिरताको नतिजा मंगलबार (३ जुन) मा सम्पन्न चुनावी परिणामले देखाएको छ।

यद्यपि युवकहरूले यो विरोधमा साथ दिने सम्भावना कमै रहेको बताएका थिए। कोभिड महामारीअघि दुवै समूह प्रगतिशील विचारका लागि मतदान गर्थे। अहिले स्थिति फेरिएको छ। पछिल्ला चुनावमा चाहे त्यो उत्तर अमेरिका, युरोप वा एसिया होस्, यो परिवर्तन स्पष्ट देखिन्छ। २० वर्ष उमेर आसपासका युवकहरू दक्षिणपन्थतर्फ झुकेका छन् भने युवतीहरू वामपन्थतर्फ।

उदारवादी पार्टीका उम्मेदवार ली जे-म्युङ मंगलबार सम्पन्न निर्वाचनमा राष्ट्रपति निर्वाचित भएका छन्।  लीको विजयले एसियाको चौथो ठूलो अर्थतन्त्रमा राजनीतिक परिवर्तन ल्याउने सम्भावना देखिएको छ।

पहिलोपटक भोट हाल्न लागिरहेका दक्षिण कोरियाली युवा ली जिओङ मिनले राइट-विङ रिफर्म पार्टीका उम्मेदवार लीलाई भोट हाल्ने बताएका थिए। उम्मेदवार लीले लैंगिक समानता मन्त्रालय बन्द गर्ने बाचा गरेका थिए। उनको यो चुनावी नाराले मिनजस्ता पुरुषलाई आकर्षित गरेको थियो छ। पुरुषका लागि सैनिक सेवा अनिवार्य बनाउनु अन्याय रहेको उनीहरूको बुझाइ छ।

मिन भन्छन्, ‘एक युवकको हैसियतमा मलाई कोरियाको यो नियम निकै गलत लाग्छ। जब हामी २१ वा २२ वर्षका हुन्छौँ, हामी समाजमा पूर्ण रूपमा भाग लिन सक्दैनौँ, किनभने त्यस समयमा १८ महिना अनिवार्य सैन्य सेवा गर्नुपर्छ।’ दक्षिण कोरियाका ४ करोड ४३ लाख ९० हजारमतदाता योग्य नागरिकमध्ये झण्डै ८० प्रतिशतले मतदान गरेका छन्, जुन सन् १९९७ यताकै राष्ट्रपतीय निर्वाचनमा सबैभन्दा ठूलो सहभागिता हो।

युवा पुस्ता अल्छी भएको आरोप गलत

दक्षिण कोरियामा ग्यालप कोरियाको सर्वेक्षणअनुसार १८-२९ वर्षका करिब ३० प्रतिशत पुरुषले रिफर्म पार्टीलाई समर्थन गरेका छन्। महिलातर्फ भने यो संख्या तीन प्रतिशत छ।किंग्स कलेज लन्डनकी राजनीतिक अर्थशास्त्री सुह्युन लीका अनुसार धेरै दक्षिण कोरियाली युवक आफूले राम्रो जागि पाउन, विवाह गर्न, घर किन्न र परिवार बसाउने अपेक्षा पूरा गर्न नसकेको अनुभव गर्छन्।

अधिकांशले यसको दोष नारीलाई दिन्छन्। महिलालाई जागिरमा प्राथमिकता दिने गरिएको उनीहरूको भनाइ छ। लीका अनुसार कोरियामा आप्रवासन निकै कम छ, जसका कारण युवकहरू आफ्नो असफलताको दोष महिलामाथि लगाउँछन्।

लोकतन्त्रसँग रिसाएका युवा

दक्षिण कोरियालगायत धेरै लोकतान्त्रिक देशहरूमा जेन-जी पुरुषहरूलाई लाग्न थालेको छ- अब उनीहरूसँग पहिलेजस्तो सामाजिक शक्ति छैन। महामारीपछि स्थिति झनै गम्भीर भएको छ। कतिपय देशमा त २० वर्ष हाराहारीका युवकको तलब अन्तर महिलाहरूको पक्षमा देखिएको छ।

युरोपेली संघको तथ्यांकअनुसार फ्रान्समा १८-३४ वर्षका पुरुषे दक्षिणपन्थी नेता मरिनले पेनको पार्टीलाई महिलाको तुलनामा बढी मत दिएका थिए। बेलायतमा पनि महिलाले कन्जर्भेटिभ पार्टीलाई पुरुषको तुलनामा कम भोट दिइरहेका छन्। सरकारी तथ्यांकअनुसार १६-२४ वर्षका पुरुष महिलाको तुलनामा पढाइ र काम दुवैमा पछि परेका छन्।

पश्चिमी देशहरूमा पनि दक्षिण कोरियाजस्तै प्रवृत्ति देखिएको छ। तीन देशमा युवकहरू जागिरको बढ्दो प्रतिस्पर्धाका लागि आप्रवासन र विविधता कार्यक्रमलाई दोष दिन्छन्।

जर्मनीमा फेब्रुअरीमा सम्पन्न आमचुनावमा आप्रवासीविरोधी पार्टी ‘अल्टरनेटिभ फर जर्मनी (एएफडी)’ ले २०.८ प्रतिशत मत ल्यायो। युवकहरूको समर्थनले पार्टी बलियो बनायो। यद्यपि यो पार्टीकी नेत्री महिला हुन्।

आधिकारिक तथ्यांकअनुसार १८-३४ वर्षका २७ प्रतिशत पुरुषले एएफडीलाई मत दिए भने ३५ प्रतिशत महिलाले वापमन्थी पार्टी ‘लिंके’ लाई समर्थन गरे। बर्लिनकी १८ वर्षीया मतदाता मली लिन्चले जलवायु परिवर्तन र आर्थिक असमानतामा पार्टीको धारणा मन परेर लिंकेलाई भोट दिइन्। उनले भनिन्, ‘धेरै पुरुषहरू दक्षिणपन्थी प्रचारमा फसेका छन्, किनभने उनीहरू असन्तुष्ट छन्। उनीहरूलाई लाग्छ कि उनीहरूले आफ्नो शक्ति गुमाइरहेका छन्, जबकि वास्तवमा त्यो शक्ति उनीहरूसँग कहिल्यै थिएन।’

यो विभाजन जेन-जीसम्म सीमित छैन

मिलेनियल्स (अहिले ३०-४० को उमेर समूहमा छन्) ले पनि यो परिवर्तन लामो समयदेखि अनुभव गरिरहेका छन्। क्यानडामा गत महिला सम्पन्न निर्वाचनमा ३५-५४ वर्षका पुरुषमध्ये ५० प्रतिशतले विपक्षी कन्जर्भेटिभ पार्टीलाई समर्थन गरे। अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामाथि लगाएको आयात शुल्कका कारण चुनाव प्रभावित भएको थियो। यद्यपि लिबरल पार्टीलाई हारको डर थियो, तर महिला मतदाताको समर्र्थनले पार्टी फेरि सत्तामा फर्कियो।

पोल फर्म इप्ससका ड्यारेल ब्रिकर भन्छन्, ‘अनुभवी पुरुषहरू मलाई परिवर्तन चाहिन्छ भन्ने पक्षमा छन्।’ क्यानडाको नानोस रिसर्चकी संस्थापक निक नानोसका अनुसार सामाजिक सञ्जालले लोकतन्त्रप्रति रिसाएका युवा पुरुषको मानसिकता परिवर्तन हुँदै छ। जागिर गुमाएका युवकहरूमा यस्तो अवस्था दिएको नानोस बताउँछिन्।

भारतमा लैंगिक अन्तर

भारतमा अहिलेसम्म यस्तो विश्वसनीय सर्वेक्षण आएको छैन, जसले जेन-जी मतदाताको राजनीतिक झुकावको लंैगिक अन्तर देखाओस्। यद्यपि ‘द हिन्दू’ मा प्रकाशित सीएसडीएस-लोकनीति २०२४ को पोस्ट पोल सवेअनुसार ३७ प्रतिशत पुरुष र ३६ प्रतिशत महिलाले दक्षिणपन्थी भारतीय जनता पार्टी (भाजपा) लाई भोट दिएका छन्। २२ प्रतिशत महिला र २१ प्रतिशत पुरुषले कांग्रेसलाई समर्थन गरेका छन्।

२०१६ को सीएसडीएस-सीएस सर्वेक्षणअनुसार ८१ प्रतिशत सहरी युवकको तुलनामा ४६ प्रतिशत सहरी युवतीहरू राजनीतिप्रति रुचि राख्छन्। शिक्षाको स्तरसँगै यो अन्तर अझ बढ्छ। शिक्षित महिला राजनीतिक मुद्दामा त्यति चासो राख्दैनन्।

राजनीतिमा रुचि राख्ने सहरी महिलामध्ये मात्र २५ प्रतिशत चुनावी गतिविधिमा सहभागी हुन्छन् भने पुरुषमा यो संख्या ५४ प्रतिशत छ। स्थानीय तह (ग्राम पञ्चायत) मा महिलाको सहभागिता ४४ प्रतिशत भने लोकसभामा ९ प्रतिशत। उनीहरूलाई नाममात्रको नेता मानिन्छ।

२४ वर्षीय राहुल (परिवर्तित नाम) बनारस हिन्दू विश्वविद्यालयका स्नातकोत्तर भाजपा समर्थक हुन्। भाजपाले अन्तर्राष्ट्रियस्तरमा राम्रो काम गरेको उनलाई लाग्छ।

२५ वर्षीया भूमि (परिवर्तित नाम) जेएनयूकी स्नातकोत्तर दक्षिणपन्थी विचिारकी समर्थक हुन्। उनले भनिन्, ‘वामपन्थीले बराबरीको कुरा त गर्छन् तर व्यवहारमा खासै देखिँदैन। दक्षिणपन्थीहरू जे बोल्छन्, प्रस्ट बोल्छन्। झुटो बोल्दैनन्।’

रीति (परिवर्तित नाम) वामपन्थी समर्थक हुन्। उनले जाति र धर्म आधारित राजनीतिमा विश्वास राख्दिनन्। त्यहीअनुसार भोट दिन्छन्।

के यो विभाजन अनन्त संघर्ष हो?

२०२४ को अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले निर्माण क्षेत्रको पुनर्जागरण र विविधता कार्यक्रमविरूद्ध प्रचार गरे, जसले उनलाई युवा महिलाबाट टाढा बनायो र राजनीतिक लैंगिक खाडल झनै गहिरो बन्यो।

आँकडाअनुसार १८-२९ वर्षका करिब ५० प्रतिशत पुरुषले ट्रम्पलाई भोट दिए भने ६१ प्रतिशत युवतीले कमला ह्यारिसलाई चुने। काला मतदाताले कमलालाई समर्थन गरेका थिए। अस्ट्रेलियामा यसै महिनाको निर्वाचनमा भने जेन-जीको लिंग आधारित राजनीतिक मतभेद खासै देखिएन। त्यसको कारण त्यहाँको अनिवार्य मतदान प्रणाली हुनसक्छ।

अस्ट्रेलियन नेसनल विश्वविद्यालयका राजनीतिक वैज्ञानिक इन्तिफार चौधरीका अनुसार अनिवार्य मतदानले चरम विचारधारालाई देखाउँछ। राजनीतिक विश्लेषकहरू भन्छन्, सरकारहरूले बढ्दो घरको मूल्य, अनिश्चित रोजगारी र युवा पुरुषहरूको मानसिक स्वास्थ्य जस्ता मुद्दा समाधान गरेनन् भने लिंगमा आधारित राजनीतिक संघर्ष लामो समयसम्म चल्न सक्छ। विशेषतः पुरुषमा आत्महत्याको दर गम्भीर नीतिगत चुनौती बन्न गएको छ।

प्रकाशित: २१ जेठ २०८२ ११:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast