
कञ्चनपुर- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो पार्टीलाई नयाँ युगमा नयाँ काम गर्ने अभियानको रूपमा प्रस्तुत गरेका छन्।
मंगलबार कञ्चनपुरको बेलौरीमा आयोजित सुदूरपश्चिम प्रदेशको भाव सम्प्रेषण तथा दोस्रो भेला कार्यक्रममा सम्बोधन गर्दै डा. भट्टराईले पार्टी पुराना धाराहरूबाट पृथक् रहेको बताए।
‘नयाँ शक्ति कुनै पनि पुराना राजनीतिक शक्तिहरू जसमा कांग्रेस, एमाले, माओवादी वा क्षेत्रीय र जातीय पार्टीहरू जस्तै होइन,’ उनले भने, ‘यो दुःखी, वञ्चित र श्रमजीवी जनताको मुक्तिको अभियान हो।’
उनका अनुसार नयाँ शक्ति पार्टीमा विभिन्न राजनीतिक पृष्ठभूमिबाट आएका व्यक्तिहरूको समावेश छ। ‘हामीले साझा दृष्टिकोणका साथ यो पार्टी निर्माण गरेका हौँ,’ डा. भट्टराईले भने, ‘यहाँ माओवादी, कांग्रेस, एमाले छाडेर आएका व्यक्ति छन्, सामाजिक अभियन्ताहरू छन्।’