
गुल्मी- पश्चिमी भेगमा बसोबास गर्ने कुमाल समुदाय निगुरो बिक्री गरेर घरखर्च चलाउँदै आएको छ। उनीहरूले वर्षौंदेखि वनमा पाइने जडीबुटीजन्य तरकारी निगुरो संकलन गरेर बिक्री गरी नुन तेलको जोहो गर्दै आएका छन्। उन्यु प्रजातीको एक प्रकारको वनस्पती निगुरो तरकारी र अचार खान प्रयोग गरिन्छ।
विपन्न कुमाल समुदाय बढी मात्रामा यो पेसासँग जोडिएको छ। जेठ सुरु भएपछि असोज महिनासम्म वनपाखामा प्रशस्त मात्रमा निगुरो पाइने गर्दछ। बिहानै उठेपछि डोको र नाम्लो बोकेर जंगलसम्म पुगेर डोकोभरी निगुरो टिपेर उनीहरू फर्कने गर्दछन्। यस क्षेत्रमा बसोबास गर्ने कुमाल समुदायसँगै अन्य विपन्न परिवारका सदस्यको दिनचर्या दिनभर जंगल र पाखामा निगुरो टिपेर बित्ने गर्दछ।
राम्रो आम्दानी गर्न सकिने भएका कारण त्यस क्षेत्रका कुमाल समुदाय यो पेसालाई अगाल्दै आएका छन्। उनहरू आफूले अघिल्लो दिन टिपेको निगुरो दोस्रो दिन बिहानै बिक्रीका लागि स्थानीय बजारदेखि सदरमुकाम तम्घाससम्म आइपुग्छन्।
जिल्लाको अर्जै, घमिर, अर्खाबाङ्, नेटा तथा ह्वाङ्दी, मुसिकोटलगायतका वनमा प्रशस्त मात्रमा निगुरो पाइने गर्दछ। विपन्न परिवारका लागि निगुरो यतिबेला राम्रो आम्दानीको मुख्य स्रोत बनेको छ। आफूले निगुरो बिक्री गरेर मासिक ३० हजारसम्म कमाउने गरेको इस्मा गाउँपालिका–५ की सरस्वती मुखिया बताउँछिन्। उनलाई त्यसैबाट घरखर्च चलाउन सजिलो भएको छ।
एक मुठा निगुरो ५० मा बिक्री गर्ने गरेको मुखियाले बताइन्। ‘दिनभर वनमा पुगेर टिप्ने हो, झरी, घाम, सर्प सबैबाट जोगिनुपर्छ, टिपेर ल्याएपछि बिक्री गर्न त गाह्रो छैन, घरखर्च चलाउन कसैसँग सापट माग्नु परेको छैन,’ मुखियाले भनिन्।
वनबाट टिपेर ल्याएका वस्तुको गाउँमा खासै महत्व नहुने भएका कारण त्यसलाई डोकोमा बोकेर बिक्रीका लागि सदरमुकाम तम्घाससम्म ल्याउने गरिन्छ। यसलाई उत्पादन गर्न कुनै लगानी गर्न नपर्ने, वनमा पुगेपछि सित्तैमा टिप्न पाइने र बजारमा राम्रो मूल्य पाइने भएका कारण निगुरो टिप्ने गरिन्छ। वनबाट टिपेर ल्याएको निगुरोलाई सुरुमा साना–साना मुठा बनाउने र त्यसलाई डोकोमा बोकेर बिक्रीका बजारसम्म पुर्याउने गरिन्छ।
निगुरोले उचित मूल्य पाउने गरे पनि यसलाई टिप्न भने गाह्रो काम भएको इस्मा अमरपुरकी सीता कुमालले बताइन्। ‘दिनभर वनमा जाने हो, घाम पानी नभनेर निगुरो टिप्छौँ’, उनले भनिन्। सीता मुखिया मात्र हैन उनीसँगै पसिना पुछ्दै डोकोमा निगुरो बोकेर सदरमुकाम आइपुगेकी चमेली राना निगुरो बिक्री गरेपछि घरपरिवारका सदस्यहरूको आवश्यकता पूरा गर्छिन्।