
काठमाडौँ- प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन्। प्रधानमन्त्री केपी शर्माको आग्रहमा सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल माओवादीका शीर्ष नेताहरू छलफलमा जुटेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा शीर्ष नेताहरूबीच छलफल भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका महासचिव देव गुरुङ र कांग्रेस नेता कृष्णप्रसाद सिटौला, नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्रराय यादव सहभागी छन्।
प्रधानमन्त्री ओलीले बाोलाएको विपक्षी दलहरूको बैठकमा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई भने डाकिएको छैन्। रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले प्रधानमन्त्रीले आह्वान गरेको बैठकमा हामीलाई नबोलाइएको बताए। उनले भने,‘हामीलाई बोलइएको छैन। हामी अहिले संसदीय दलको बैठकमा छौँ।’
त्यस्तै प्रधानमन्त्री ओलीले बाोलाएको बैठकमा विपक्षी दल राप्रपका नेताहरू पनि देखिएका छैनन्। बैठकमा नेकपा (एकीकृत समाजवादी) लाई पनि बोलाइएको छैन।
भिजिट भिसा प्रकरणमा संलग्न भएको भन्दै गृहमन्त्री लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले सदनमा अवरोध गरेका छन्। जेठ १५ गते बजेट ल्याउन दिए पनि गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने उनीहरूले अडान लिएका छन्।
विपक्षी दलहरूको अवरोधका कारण जेठ १५ पछि संसदको बैठक बस्न सकेको छैन। यसअघि प्रधानमन्त्री ओलीले नेकपा एमाले संसदीय दलको बैठकमा मंगलबारदेखि संसद सञ्चालन हुने बताएका थिए।