काठमाडौँ- सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीमाथि भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साेमबार सोडारीविरुद्ध एक करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
सोडारी नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रदेशसभा सदस्य छन्। आयोगले सोडारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको मुद्दा दायर गरिएको जनाएको छ।
आयोगका अनुसार सोडारीले सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको र पदको दुरुपयोग गरी अस्वाभाविक रूपमा उच्च जीवनस्तर यापन गरेको प्रमाणित भएको छ।
सोडारीले २०७४ माघ ७ देखि २०७९ फागुन १० सम्म सार्वजनिक पदमा रहँदा जम्मा ८५ लाख ५१ हजार ३३४ रुपैयाँ ९२ पैसा बराबरको वैधानिक आय आर्जन गरेको देखिएको छ। तर सोही अवधिमा उनले १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ ४९ पैसा खर्च तथा लगानी गरेको आयोगको अनुसन्धानले देखाएको छ।
जग्गा खरिद, घर निर्माण, छोरीको अध्ययन, छोराको विवाह, उद्योगमा लगानी, बिमा प्रिमियम, चुनावी खर्च, सेयर खरिद तथा बैंक मौज्दातजस्ता शीर्षकमा गरिएको खर्चले वैधानिक आम्दानीभन्दा एक करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बढी देखिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
आयोगले सोडारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को विभिन्न धारामा मुद्दा दायर गर्दै बिगोबमोजिम कैद र जरिबाना मागसहित सो सम्पत्ति जफत गर्न विशेष अदालतमा आरोपपत्र पेस गरेको हो।
सोडारीले आर्जन गरेको गैरकानुनी सम्पत्तिबाट श्रीमती गीता सोडारी र छोरा बबी सोडारीका नाममा जग्गा खरिद, घर निर्माण र बैंकमा मौज्दात राखिएको देखिएकाले उनीहरूलाई सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको आयोगको भनाइ छ।
आयोगले सोडारीले सार्वजनिक सेवामा रहँदा पदको दुरुपयोग गर्दै झुटा विवरण पेस गरेर सम्पत्ति लुकाएको समेत ठहर गरेको छ। आयोगका अनुसार सोडारीले पेस गरेको सम्पत्ति विवरण वास्तविक नभएको पुष्टि भएको छ।





