
कञ्चनपुर- भीमदत्त नगरपालिका-१८ कटानकी इन्दु राई माछा मार्न बिहान झिसमिसेमै महाकाली नदी पुग्छिन्। महाकालीबाट माछा मारेर बिक्री गरी उनको परिवारको जीविका चलेको छ। डेढ दशकदेखि राईले महाकाली नदीमा माछा मार्दै आएकी छन्।
माछा मार्न जाँदा राईले खाना पनि साथमै लैजाने गरेको बताइन्। उनले दैनिक पाँच किलोदेखि १० किलोसम्म माछा मार्छिन्। त्यही माछा झलारी, महेन्द्रनगर, दैजीलगायतका स्थानीय बजारमा लगेर उनले बिक्री गर्छिन्।
‘ताजा माछाको माग बढी हुन्छ,’ उनले भनिन्, ‘ग्राहकलाई पुर्याउनै सक्दैनौँ।’ सानो माछा प्रतिकिलो २५० र ठूलो माछा ३०० मा बिक्री हुन्छ। माछा बिक्री गरेर महिनामा ३० हजारदेखि ३५ हजारसम्म कमाई हुने गरेको राईले बताइन्।
उनीसँग घर छ तर खेतीपाती गर्न जग्गा छैन। अन्न, नुन, तेल, लुगाफाटो, औषधोपचार, बालबालिकाको विद्यालयको खर्चलगायत आवश्यकता उनले माछा बिक्री गरेको आम्दानीले धान्ने गरेकी छन्। माछा मार्न उनी समूह बनाएर जान्छिन्।