शब्दश्रद्धा

गणेश रसिक- एक युगको समाप्ति, जो जीवनमा आफैँसँग पटकपटक भत्किए…

विवेक विवश रेग्मी १९ जेठ २०८२ २१:४०
86
SHARES
गणेश रसिक- एक युगको समाप्ति, जो जीवनमा आफैँसँग पटकपटक भत्किए…

इटहरी– गणेश रसिक। नामभन्दा ठीक विपरीत जीवन बाँचेका उनी आइतबार यो लोकबाट अस्ताए। उनको निधनले कला, साहित्य र संगीत क्षेत्रमा आबद्ध मानिस वियोगमा छन्। यद्यपि रसिक आफैँले त्यो वियोग जीवनभर बाँचिरहे। उनी आफैँसँग पटक-पटक भत्किरहे।

१४ असोज ०८१ मा रसिकको नाममा संग्रहित ‘गणेश रसिकःअभ्यर्थना ग्रन्थ’ काठमाडौँमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरियो। कार्यक्रममा रसिकले भनेका थिए- ‘बाँचे फेरि भेटौँला, मरे त जीवन सकिहाल्छ।’

उनको यो बोलीजस्तै उनको जीवन आइतबारदेखि सधैँका लागि सकिएको छ। यससँगै एक युगको समाप्ति भएको छ।

गत असोजको एक दिउँसो हिमालप्रेसकर्मी दीपेन्द्र चौलागाईँ र म बालकोटस्थित रसिक निवास पुगेका थियौँ। मैले उनीकहाँ पुग्नुअघि पटकपटक फोन सम्पर्क गरी ‘लोकेसन’ सोधेको थिएँ। रसिक दाइ हामीलाई बरन्डामै पर्खिएर बसिरहेको देखेँ।

‘ए भाइ आइपुग्नुभयो! माथि नै आउनु न, त्यो गेट खोलेर यताबाट (घरमाथि जाने ठाउँ देखाउँदै) माथि आउनु न!’ त्यसपछि बिस्तारै माथि गयौँ। दिउँँसोको औषधि खाने बेला भएको रहेछ। रसिक दाइ औषधि खाएर आउने क्रममा धड्कन स्याँस्याँ भएको परैबाट सुनिन्थ्यो।

‘लेख्न खोज्छु, हातपाखुरा गल्छ। हिँड्न खोज्छु, खुट्टा दुखेर थचक्कै बस्छु। साथीभाइ भेट्न आउँछन्, अलिकति गफिँदैमा स्याँस्याँ हुन्छ। घरी छटपटीमा पर्छु, के गरौँ, कसो गरौँ हुन्छ’, रसिकले केही सहज बनाउन खोज्दै भनेका थिए।

म निःशब्द बनेँ। स्वास्थ्य केही सहज भएपछि कुराकानीको क्रम अगाडि बढ्यो। त्यसको केही दिनपछि उनको अभ्यर्थना ग्रन्थ सार्वजनिक गर्ने तयारी भइरहेको कुराकानी भएपछि म सो कार्यक्रममा सहभागी थिएँ। रसिक दाइसँगै गएको थिएँ, फर्किदाँ पनि सँगै फर्किएँ। बाटामा केही तितामिठा कुराकानी भए। फेरि भेट्ने बाचासहित हामी छुट्टियौँ। तर उक्त बाचा पूरा हुन पाएन। अब सर्जक रसिकसँग भौतिक शरीरमा कहिल्यै भेट हुनेछैन।

प्रोस्टेटको क्यान्सरबाट पीडित रसिकले अन्ततः ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार अन्तिम सास लिए। त्यो सास उनीभित्रका बाँकी आवाज, बाँकी सपना, सबै दुःख, सबै चीत्कार, सबै वेदना, सबै रोदन, सबै-सबै ओझेल पर्‍यो।

एक युग थियो, जसले आँसुबाट गीत बुन्थ्यो। दुःखको हिमशिखरबाट कविता लेख्थ्यो। नदीजस्तै दुःखको गहिराइबाट फेरि माथि उठेर तत्क्षण जीवन बाँच्थ्यो। अनि लेख्थ्यो गीत, कविता र गथ्र्यो साधना।
रसिकको जीवन, जीवनजस्तै थिएन। उनले जीवनमा अनेकन् दुःख व्यहोरे। आफ्नाहरू सबै गुमाए। गुमाउँदागुमाउँदै अन्ततः उनी आफैँ गुमे। अभावको अर्थ रसिकलाई थाहा थियो। यस्तो अभाव कि जो चाहेर पनि पूरा गर्न सकिन्न।

उनी कसरी यस्तो अभावमा पुगे?

भोजपुरको छिनामखु नौलेगाउँमा जन्मिएका गणेश रसिक (गणेशकुमार राई)को परिवार साहित्य, राजनीति र सैनिकसँग जोडिएको थियो। बाजे हर्कराज २००७ सालको क्रान्तिमा होमिएका थिए। बुबा दार्जिलिङमा जागिरे थिए। घरमै पुस्तकालय थियो।

घरमै पुस्तकालय भएपछि साहित्य र संगीतको चेत उनीमा थियो। बिस्तारै उनी साहित्य र संगीतको सिर्जना गर्दै जीवन बाँच्न थाले। परिवार राम्रै चलेको थियो। तर उनले आफ्ना क्रमैसँग गुमाउँदै गए।

जेठो सन्तानका रूपमा जन्मिएका उनले सुरुमा भाइ गुमाए। २०४० सालमा भाइ शम्मीको निधन भयो। शम्मी तिनै हुन्, जो गायक बन्ने सपना बुनेका थिए। उनको वियोगमा रसिकले ‘दसगजामा उभिएर’ उपन्यास लेखेका छन्।

२०५२ सालमा अर्का भाइ श्याम दुर्घटना बिते। अर्का भाइ प्रजु माओवादी द्वन्द्वकालमा बिते। प्रहरीको इन्सपेक्टर रहेका प्रजु २०६० सालमा भिडन्तमा परी बितेका थिए। आफू सँगसँगै हुर्किएका भाइहरूको आँखै अघि अन्त्येष्टि गरेका रसिकले वियोगको घाउ बिर्सन मात्रै के लागेका थिए छोरा गुमाए।

२०६७ सालमा रसिकका छोरा निमेष सुतेकै अवस्थामा मृत भेटिएका थिए। त्यसपछि शून्य-शून्य बन्दै गएका उनी श्रीमतीको सहारामा बाँचिरहेका थिए। श्रीमतीको दुःखमा आफू आँसु पुछिदिन्थे, आफ्ना आँसु भने नीराको सप्कोले पुछिन्थे। जीवनमा भत्किँदै गएको समय र आइपरेको पहिरो एकअर्काको साथले थामिरहेका थिए।

वेदना, चोटको हन्डर खाएर बाँचिरहेका रसिकले २०७८ सालमा श्रीमती नीरालाई समेत गुमाए। कोभिड १९ ले नीराको प्राण लियो। नीराको मृत्युले रसिक झन् भत्किए- भित्रभित्रै, चुपचाप-चुपचाप। त्यसपछि फगत एक्लो जीवन बाँचिरहेका रसिक आफू पनि सधैँ-सधैँका लागि अस्ताए।

छोरा निमेषको सम्झनामा रसिकले लेखेका छन्, ‘तैँले पनि हामीले जस्तै आमा र बाबु भएर उमेर पुगेको सन्तानको शोक छातीमा राखेर बाँच्नुपरेको भए थाहा पाउने थिइस् निष्ठुरी! सन्तान के हो? आमाबाबुको माया कस्तो हुन्छ? अब त तैँले लान नसकेको अथवा लान नचाहेर छाडेको नासो सपना हाम्रा पनि सपना भए। खै के भनौँ निमेष तँलाई, तँजस्तै मर्न पनि सकिएन।’

केही वर्षपहिले नै भारतको दिल्लीबाट डाक्टरले फर्काएको भए पनि नेपाल आएपछि भने उपचार गरेर क्रमशः स्वास्थ्य सुधार रहेको बताएका थिए। ‘मलाई त दिल्लीबाट डाक्टरले तिमी नेपाल जानू, आफ्नो खुसी हुने काम गर्नू भनेर माया मारेर फर्काएको हो। तर यहाँ आएपछि उपचार गरेँ, राम्रो भइरहेको छ,’ उनले भनेका थिए।

गणेश रसिक एक नाम मात्रै होइन, जो साहित्य, रंगमञ्च र अभिव्यक्तिको प्रतीक थिए। तर त्यो नाम पछाडि लुकेको थियो- पीडा, रोदन, दुःख र कहालीलाग्दो जीवन। यही जीवनमा बाँचिरहँदा उनी कैयौँ पटक मरेझैँ अनुभव गर्थे।

उनले आफ्नो वियोग पोख्ने साथीहरू  कमाए। तर आफ्नो खुसी साट्ने परिवार गुमाएर खण्डित भएका उनको जीवन खण्डखण्डमा बाँचेको थियो। कहिले दुःख, कहिले पीडा, कहिले रोदन, कहिले आँसु। तर ती सबै खण्ड मिलेर बनेको थियो एक युग। जुन युगको अन्त्य भयो।

उनी बालकोटमा बुहारी, भतिज र नातिनीको साथमा बस्दै आएका थिए। अब उक्त घरमा रसिक भेटिने छैनन्, तर भेटिनेछन् भित्तामा झुन्डिएका सम्मानका फोटाहरूमा। र्‍याकमा राखिएका पुस्तकहरूमा। त्यहीँ नजिक राखिएका हार्मोनियम र गितारहरूमा। र भेटिनेछन्, सधैँसधैँ स्मृतिहरूमा।

उनी बाँचिरहँदा पटकपटक आफैँसँग भत्किए। एउटा जिन्दगी, खण्ड खण्डमा बाँचे। कहिले भत्किँदै, कहिले छटपटाउँदै, कहिले तड्ँिपदै, कहिले कहिले टुक्रिँदै गए। र, आज उनी यो लोकबाटै रित्तिएका छन्। उनको भौतिक शरीर अब कुनै सभामा सशरीर उपस्थित नभए पनि उनका सिर्जनाले उनी जीवन्त रहनेछन्।

यतिबेला ल्यापटपमा गुञ्जिरहेछन्

गणेश रसिक –
नूनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर
कहालीलाग्दो अक्करको भीरमा सासलाई रोकेर
के गरी तर्नु पिखुवाको बाइसै जंघार
आत्तिएर मन रुन्छ कठै घरलाई सम्झेर

सुन-बालुवाको बगरमा मैले सून कहिले भेटिनँ
निःस्वार्थी भई मायामा गर्ने मान्छे नै देखिनँ
न बासको टुंगो न गाँसको टुंगो भदौरे झरीमा
रुझेको तनले गलेको मनले हिँड्न नै सकिनँ

पारपानीको ठाडो उकालो थाकेको बेलामा
डाँडामा पुग्दा तिर्खा है लाग्छ पानी छ खोलामा
रिंगटा लाग्ने थाप्लोमाथि चर्किंदो घाममा
भारी बिसाउँदा पसिना पुछ्ने टोपी छ शीरैमा

उमेरसँगै जिन्दगीलाई धकेल्न साह्रो भो
सम्झेर ल्याउँदा जन्मेको घर झन्झन टाढा भो
नौ नारीदेखि गलेर आउँछ पाइला सर्दैन
हिँड्नु पर्ने मूलबाटोलाई छोट्याउन गाह्रो भो ।

अलबिदा सर्जक गणेश रसिक…!!!

रहेनन् गणेश रसिक

प्रकाशित: १९ जेठ २०८२ २१:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast