
गुल्मी- रुरुक्षेत्र गाउँपालिका-३ थोर्गा पानीट्याङ्कीका गोविन्द ज्ञवालीको पुर्ख्याैली पेसा उखुखेती हो। उनले उखुबाट खुदो र गुड उत्पादन गरी वार्षिक ५८ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। गोविन्द गाउँमै स्थापना भएको ‘थोग्रेली गुड खुदो उद्योग’ मा पनि काम गर्छन्। उखु बिक्री र उद्योगमा रोजगारी पाएकाले उनी विदेश जानुपर्ने बाध्यता नरहेको बताउँछन्।
रुरुक्षेत्रमा गोविन्दजस्तै थुप्रै किसानले उखु खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन्। पालिकाभर करिब ३ हजार रोपनीमा उखु खेती भइरहेको छ। उखुको मूल्य वृद्धि र बजारको स्थायीत्वका लागि गाउँपालिकाले वडा नं ४ मा ‘थोग्रेली गुड खुदो उद्योग’ स्थापना गरेको हो। उद्योगमार्फत किसानले उखुको झन्डै दोब्बर मूल्य पाएका छन् साथै गाउँमै रोजगारी पनि सिर्जना भएको छ।
उद्योग सञ्चालनका लागि ‘रुरु बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ गठन गरिएको छ। उद्योगले उखु प्रतिकेजी १२ रुपैयाँमा खरिद गर्दै कृषकको खेतमै पुग्ने गरेको छ। उखुको रसबाट गुड, खुदो र मिठाइ उत्पादन गरिन्छ। उद्योगले चार महिनामै २९ लाख रुपैयाँभन्दा बढी मूल्यको उत्पादन बिक्री गरेको सहकारीका प्रबन्धक प्रकाश थापाले जानकारी दिए।
गाउँमै रोजगारीको अवसर पाएका स्थानीयहरूले जीवनशैलीमा सुधार आएको बताइरहेका छन्। हरि सेनानी, सीता पन्थ, कल्पना राईजस्ता स्थानीयले मासिक १२ देखि २५ हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन्। काम गर्ने अधिकांश महिला हुन् र सबै सहकारीका सेयर सदस्य छन्।
उद्योग स्थापनासँगै दुई सय ६५ टन उखु खरिद भइसकेको छ। किसानहरूले करिब ३१ लाख ८० हजार रुपैयाँ आम्दानी लिइसकेका छन्। गङ्गा पुनले मात्र दुई लाख ५० हजार रुपैयाँसम्म आम्दानी गरेका छन्।
रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले कृषि र पर्यटनमार्फत गाउँमा रोजगारी सिर्जना गर्न उद्योग स्थापना गरिएको बताए। आगामी वर्षको नीति तथा कार्यक्रममा उखुखेती र उद्योगलाई विशेष प्राथमिकता दिइने अध्यक्ष ज्ञवालीले बताए।