शिक्षा विधेयकमाथि छलफल रोकियो, समिति बैठक शिक्षामन्त्रीकै कारण स्थगित

हिमाल प्रेस १९ जेठ २०८२ ११:२६
3.5k
SHARES
शिक्षा विधेयकमाथि छलफल रोकियो, समिति बैठक शिक्षामन्त्रीकै कारण स्थगित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति। फाइल तस्बिर।

काठमाडौँ- विद्यालय शिक्षा विधेयक-२०८० माथि छलफल गर्न बोलाइएको संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक फेरि स्थगित भएको छ। समितिका सभापति र सदस्यहरूका अनुसार बैठक स्थगित हुनुमा शिक्षामन्त्री रघुजी पन्तकै भूमिका मुख्य रहेको छ।

समितिका सभापति अम्मरबहादुर थापाले हिमालप्रेससँग भने, ‘समिति बैठक बस्ने निश्चित छैन। शिक्षामन्त्री, सरकारले हामी तयार नभएसम्म समिति बैठक नबोलाउनु भनेको छ। सरकार कहिले तयार हुन्छ, त्यहिले बैठक बस्छ। सरकारले हामीले सम्बन्धित पक्षसँग वार्ता गर्दै छौं भनेर समितिलाई जानकारी गराएको छ। बिनातयारी बैठक बसेर उपलब्धि छैन।’

यसैगरी, समिति सदस्य सरिता भुसालले पनि बैठक स्थगनको जिम्मेवारी शिक्षामन्त्रीको तयारी अभावमै देखिएको बताइन्। ‘आज बस्ने भनेर सूचना आएको थियो। स्थगित भयो। शिक्षामन्त्रीकै कारण बैठक स्थगित भएको जानकारी पाएकी छु। अब कहिले बस्छ थाहा छैन,’ उनले भनिन्।

बैठकमा उपसमितिले बुझाएको विद्यालय शिक्षा विधेयक-२०८० माथिको प्रतिवेदनमाथि छलफल हुने तय भएको थियो। बाल विकास केन्द्र, निजी विद्यालयहरूको व्यवस्थापन, अस्थायी र राहत शिक्षकहरूको समायोजनजस्ता विषयहरू विवादित र जटिल रहेको भन्दै यसबारे राजनीतिक सहमति आवश्यक भएको बताइएको छ।

यही विधेयकको सन्दर्भमा नेपाल शिक्षक महासंघलगायत विभिन्न पक्षले असन्तुष्टि जनाएका छन्। महासंघले प्रतिवेदनको केही धाराहरू शिक्षकमैत्री नभएको भन्दै विरोध गर्दै आएको छ।

सरकार र नेपाल शिक्षक महासंघबीच १७ वैशाखमा विधेयक असार १५ गतेभित्र प्रतिनिधिसभामा पेस गरिने सहमति भएको थियो। तर अहिलेसम्म कार्यान्वयनतर्फ ठोस प्रगति नदेखिनु र समिति बैठक बारम्बार स्थगित हुनुले विधेयकको भविष्य अझ अनिश्चित बन्दै गएको संकेत गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast