
काठमाडौँ- आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दै त्रिकोणात्मक सिरिजको सुरुवात गर्दैछ। स्कटल्यान्डको फोर्थहिलमा हुने खेल दिउँसो पौने चार बजे सुरु हुनेछ। नेदरल्यान्ड सम्मिलित सिरिजमा नेपाली टोली सुखद सुरुवात गर्ने लक्ष्यमा छ।
सिरिजको तयारीका लागि नेपाली टोलीले स्कटल्यान्ड कै ‘ए’ टोलीसँग अभ्यास खेल खेलेको थियो। त्यसअघि नेपालले बेलायतमा पनि अभ्यास खेल खेलेको थियो। सिरिजको १२ खेलमा २ खेलमा मात्र जित निकालेको नेपाल ८ खेलमा हार भोग्दै ६ अंकमा तालिकाको पुछारमा छ।
लिगको १६ खेलमा ९ खेलमा जित, ५ खेलमा हार भोग्दै २० अंक भएको स्कटल्यान्ड चौथो स्थानमा छ। लिगको २० खेलमा १२ खेलमा जित, ६ खेलमा हार र २ खेलमा अंक बाँडेको नेदरल्यान्ड २६ अंकमा तालिकाको दोस्रो स्थानमा छ।
समान खेलबाट १४ खेलमा जित र ६ खेलमा हार भोग्दै २८ अंक भएको अमेरिका अंक तालिकाको शीर्ष स्थानमा छ।