
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्। सोमबार बिहान ९ बजे सभापति देउवा निवास बुढानिलकण्ठमा बस्ने गरी पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाइएको हो।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको जानकारी दिए। उनले समसामयिक राजनीति तथा भातृसंस्थाका विषयमा छलफल गर्न बैठक बोलाइएको बताए।
यसअघि जेठ १२ मा कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बसेको थियो। सभापति देउवाले एक साताभित्र दोस्रोपटक बैठक बोलाएका हुन्।
अघिल्लो बैठक पार्टीको क्रियाशील सदस्यताका सम्बन्धमा भएका प्रगतिबारे छलफल गर्न बोलाइए पनि भिजिट भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको विषयमा केन्द्रित रह्यो।
बैठकमा गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नभएको प्रष्टिकरण दिँदै नेता शेखर कोइरालाले राजीनामा दिनुपर्ने भनेर सार्वजनिक रूपमा दिएको अभिव्यक्तिप्रति दुखेसो पोेखेका थिए।
नेता कोइरालाले विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका थिए। उनको यो भनाइलाई कांग्रेस सांसद सुनिल शर्मा र राजेन्द्र बजगाईँले समर्थन जनाएका थिए।
पदाधिकारी बैठकमा उपसभापति पूर्णबहादुर खड्का र नेता शशांक कोइरालाले शेखरसहितका नेतासँग स्पष्टीकरण सोध्नुपर्ने तर्क गरेका थिए।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा पनि शशांकले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने भनेर सार्वजनिक रूपमा अभिव्यक्ति दिएकाले शेखरसँग स्पष्टीकरण सोध्नुपर्ने जिकिर गरेका थिए।
यो भनाइपछि शशांकको आलोचनासमेत भएको थियो। सांसद बजगाईँले सामाजिक सञ्जालमा एक गाडीको शोरूम अगाडि उभिएर शशांकले गाडी उपहार लिएको दाबी गरेका थिए। शशांकले गाडीका साथै रोलेक्स घडी, झोलाभरि रूपैयाँ उपहार लिएको बजगाईँले उल्लेख गरेका थिए।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको नाम मुछिएपछि कांग्रेसको आन्तरिक विवाद सतहमा आएको छ।