
काठमाडौँ– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रबारे जनतालाई बुझाउन नसकिएको बताएका छन्।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै महासचिव पोखरेलले लोकतन्त्रले नेपाली समाज परिवर्तनका लागि गरेको सहयोगबारे जनतालाई बुझाउन नसकिएको बताए।
‘लोकतन्त्रले नेपाली समाज परिवर्तनका लागि ठूलो सहयोग गरेको छ, तर त्यो कुरा हामीले जनताको माझमा जुन हिसाबले पु¥याउनुपर्ने थियो, त्यस हिसाबले पु¥याउन सकेका छैनौँ,’ उनले भने।
महासचिव पोखरेलले नेपाली राजनीतिमा जनताको बलिदानबाट स्थापित लोकतन्त्र र गणतन्त्रमाथि नै अनास्था र अविश्वास हुने हिसाबले चर्चा गर्न थालिएको उल्लेख गर्दै लोकतन्त्रले केही दिएन, बरु योभन्दा राजतन्त्र नै ठीक थियो भन्ने हिसाबले समेत प्रचार गर्ने प्रयत्न भएको बताए।
उनले संयुक्त सरकार चलाउनु पर्दा आफ्ना विचार र दृष्टिकोण पूर्ण रुपमा लागू गर्न नसकिने उल्लेख गर्दै अहिले दुई दल मिलेर सरकार चलाइरहँदा एकल सरकार चलाएजस्तो सहज नभएको बताए।
अहिले दुई ठूला दलको सरकार बनेपछि देशको आर्थिक क्षेत्रमा उल्लेख्य सुधार भएको महासचिव पोखरेलले बताए। उनले सीमित जनशक्ति र साधनस्रोतका बीचमा पनि नेपालको स्वास्थ्य क्षेत्रले सामाजिक विकासमा पु¥याएको योगदान महत्वपूर्ण भएको बताए।
नेपाली समाजलाई पछाडि फर्काउने मनसाय बोकेर केही शक्ति भ्रमको खेतीमा लागेका उनको आरोप थियो। नेपालको आर्थिक, सामाजिक विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा एमाले नेतृत्वमा हुँदा निकै सुधार भएको महासचिव पोखरेलले बताए।
राज्यलाई कमजोर बनाएर देश र नागरिक कहिल्यै पनि बलिया हुन नसक्ने उल्लेख गर्दै उनले बलियो राज्यले मात्र देश र जनताको सुरक्षा गर्न सक्ने कुरालाई भुल्न नहुने बताए।
महासचिव पोखरेलले पार्टीभित्र पनि अराजकतावाद र अवसरवाद मौलाउँदै गएको धारणा राखे।