
काठमाडौँ- बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायधीकरण (आईसीटी) ले पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ। हसिनाले मानवताविरूद्ध अपराध गरेको भन्दै दायर गरिएको निवेदनमाथि सुनुवाई गर्दै आईसीटीले पक्राउ पुर्जी जारी गर्ने आदेश दिएको हो।
गत वर्ष अगस्तमा विद्यार्थी नेतृत्वको प्रदर्शनमा हसिनाको निर्देशनमा लापारबाहीपूर्ण कारबाही र प्रदर्शनकारीको हत्यामा संलग्न भएको आरोपमा मानवताविरूद्धको अभियोग दर्ता भएको थियो।
आईसीटीमा हसिनाविरूद्ध पाँच आरोप दायर भएको थियो जसमध्ये मानवताविरूद्धको अपराधको निर्देशन व्यक्ति भनिएको थियो। कैयौँ तथ्य, कागजात, भिडियो र अडियो कलको विवरण प्रमाणका रूपमा पेस गरेर हसिनामाथि अभियोगपत्र दर्ता भएको थियो।
यो मामिलामा बंगलादेशका पूर्वगृहमन्त्री असदुज्जमान खान र पूर्वप्रहरी महानिरीक्षक चौधरी अब्दुल्ला अल–मामुनविरूद्ध पनि आरोप लगाइएको छ।
पूर्वगृहमन्त्री असदुज्जमानविरूद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ भने चौधरी यसअघि नै पक्राउ परिसकेका छन्।
गत वर्ष विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेपछि हसिना देश छोडेर भारत भागेकी थिइन्। अहिले उनी भारतमा स्वनिर्वासित जीवन बिताइरहेकी छन्।
हसिनाले भने आफूविरूद्ध लगाइएको आरोपलाई राजनीति प्रेरित बताएकी थिइन्।