डब्लूसीएल : सात महिनापछि एकदिवसीय शृंखला खेल्न मैदानमा उत्रिँदै नेपाली टोली

हिमाल प्रेस १८ जेठ २०८२ १८:११
40
SHARES
डब्लूसीएल : सात महिनापछि एकदिवसीय शृंखला खेल्न मैदानमा उत्रिँदै नेपाली टोली तस्बिर : क्यान

काठमाडौँ – स्कटल्याण्ड र नेदरल्याण्ड्ससँगको त्रिकोणात्मक सिरिजबाट नेपालले आईसीसी विश्वकप लिग २ (डब्लूसीएल–२) पुनः सुरु गर्दैछ। यो शृृंखला सोमबार स्कटल्याण्डमा सुरु हुँदैछ।

नेपालले नेपाली समय अनुसार अपराह्न ३ः४५ बजे डन्डीमा आयोजक स्कटल्याण्डविरुद्ध सिरिजको पहिलो खेल खेल्नेछ। नोभेम्बर ४ मा अमेरिकामा भएको स्कटल्याण्डविरुद्धको वर्षाले प्रभावित खेलपश्चात यो नेपालको पहिलो डब्लुसीएल–२ खेल हो।

यो सिरिज नेपालका नयाँ मुख्य प्रशिक्षक स्टुअर्ट ल को प्रशिक्षणमा पहिलो प्रतिस्पर्धात्मक शृंखला पनि हो।

नेपालले यो त्रिकोणात्मक शृंखलामा स्कटल्याण्ड र नेदरल्याण्ड्सविरुद्ध दुई–दुई गरी चार खेल खेल्नेछ। पहिलो खेलपछि नेपालले नेदरल्याण्ड्सविरुद्ध जुन ४ र जुन १० मा खेल्नेछ भने जुन ६ मा आयोजक स्कटल्याण्डसँग पुनः भिड्नेछ।

हालसम्मको प्रदर्शन

नेपालले लिगमा अहिलेसम्म १२ खेलमात्र खेलेको छ र त्यसमा दुईवटामात्रै जित निकालेको छ।

डब्लुसीएल–२ को सुरुआतमा २०२४ फेब्रुअरी १५ मा नामिबियाविरूद्ध घरेलु शृंखलामा चार विकेटले हार बेहोरेको थियो। त्यसपछि नेदरल्याण्ड्सविरुद्धको दोस्रो खेलमा नौ विकेटले जित निकाले पनि बाँकी दुई खेल नामिबिया र नेदरल्याण्ड्ससँग हार्‍यो। नेपाल नामिबियासँग आठ विकेट र नेदरल्याण्ड्ससँग दुई विकेटले पराजित भएको थियो।

त्यसपछि क्यानडामा भएको दोस्रो त्रिकोणात्मक शृंखलामा नेपालले आयोजकविरुद्ध दुबै खेल गुमायो। ओमानसँग पहिलो खेल एक विकेटले गुमायो भने दोस्रो खेल वर्षाले प्रभावित भएर बिना बल फालिएर रद्द भयो।

तेस्रो त्रिकोणात्मक शृंखलामा अमेरिका र स्कटल्याण्डसँग अमेरिका पुगेको नेपालले अमेरिकासँग तीन विकेट र ३७ रनले पराजय भोग्यो। स्कटल्याण्डसँग पहिलो खेलमा पाँच विकेटको जित निकाल्यो भने दोस्रो खेल वर्षाले प्रभावित भएर रद्द भयो।

अंक तालिका

नेपालले तीनवटा त्रिकोणात्मक शृंखलामार्फत १२ खेल खेल्दै ६ अंकमात्र जोडेको छ र आठ टोली सम्मिलित तालिकाको पुछारमा छ। यूएईले नेपालभन्दा चार खेल बढी खेलेर पनि ६ अंक मात्र छ।

अमेरिका २० खेलबाट २८ अंकसहित शीर्ष स्थानमा छ। नेदरल्याण्ड्स (२६ अंक) र ओमान (२४ अंक) क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

स्कटल्याण्ड १६ खेलबाट २० अंकसहित चौथो स्थानमा छ। क्यानडा र नामिबिया २०–२० खेलबाट क्रमशः २० र १४ अंकसहित पाँचौँ र छैठौँ स्थानमा छन्।

डब्लुसीएल–२ को शीर्ष चार टोली विश्वकप छनोटमा पुग्नेछन् भने पुछारका चार टोलीले आफ्नो एकदिवसीय मान्यता जोगाउन पुनः प्रतिस्पर्धा गर्नुपर्नेछ।

नेपाल टोली

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार साह, भीम सार्की, आरिफ शेख, बशिर अहमद, गुल्शन कुमार झा, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी, नन्दन यादव, रिजन ढकाल।

प्रकाशित: १८ जेठ २०८२ १८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast