
काठमाडौँ- राजसंस्थाको पुनःस्थापनाको मागसहित काठमाडौँमा जारी आन्दोलनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल का अध्यक्ष कमल थापासहित ६ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा थापासँगै शिला राना, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिना छन्। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले ‘राजावादी समूहलाई उक्साएको आरोप’मा उनीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिएका छन्। उनीहरूलाई परिसरको हिरासतमा राखिएको छ।
जेठ १५ गतेदेखि राजसंस्थाको पक्षमा राजावादी दल र संगठनहरूले आन्दोलन सुरु गरेका हुन्। चरणबद्ध रूपमा अघि बढिरहेको यस आन्दोलनअन्तर्गत आज आन्दोलनको चौथो दिन बालुवाटारतर्फ जुलुस लिएर जाँदै गर्दा थापा पक्राउमा परेका हुन्।
राजसंस्थाको बहाली, हिन्दुराष्ट्र पुनःस्थापनालगायत मागहरू लिएर राप्रपाले अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ। अध्यक्ष थापा स्वयं पछिल्ला दिनहरूमा सडक प्रदर्शनमा अग्रसर रहँदै आएका छन्।
थापाको पक्राउपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आन्दोलन थप चर्किने चेतावनी दिएका छन्।