बंगलादेशमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध मुद्दा चलाइने

हिमाल प्रेस १८ जेठ २०८२ १५:२१
16
SHARES
बंगलादेशमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध मुद्दा चलाइने शेख हसिना : फाइल तस्बिर

काठमाडौँ– बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध मुद्दा चलाइने भएको छ।

हसिनाको निर्देशनमा प्रहरीद्वारा भएको लापारबाहीपूर्ण कारबाही र प्रदर्शनकारीको हत्यामा संलग्नताको आरोपमा मानवताविरुद्धको अपराधको अभियोगमा आइतबारबाट सुनुवाइ सुरु हुने भएको छ।

सन् २०२४ को अगस्तमा विद्यार्थी नेतृत्वको जनविद्रोहको उत्कर्षमा ७७ वर्षीया हसिना हेलिकप्टरमार्फत् भारत गएकी थिइन्। उनी अहिले पनि भारतमा शरण लिएर बसेकी छन्।

संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२४ को जुलाईदेखि अगस्तसम्म हसिनाको सरकारले प्रदर्शनकारीलाई दबाउने निर्मम अभियान चलाउँदा एक हजार ४०० जनाको मृत्यु भएको थियो।

घरेलु अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले हसिनाको अपदस्थ सरकार र उनको प्रतिबन्धित अवामी लिग पार्टीसँग सम्बन्धित पूर्व वरिष्ठ व्यक्तिहरूविरुद्ध मुद्दा चलाइरहेको छ।

तत्कालिन हसिना सरकारका वरिष्ठ व्यक्तिहरूमाथि मुद्दा चलाउनु अहिले सत्ताका लागि होडबाजी गरिरहेका थुप्रै राजनीतिक दलहरूको प्रमुख माग हो। अन्तरिम सरकारले सन् २०२६ को जुनअगावै निर्वाचन गर्ने प्रतिबद्धता जनाएको छ।

सरकारी स्वामित्वको बंगलादेश टेलिभिजनबाट उक्त मुद्दाको सुनुवाईको प्रत्यक्ष प्रसारण गर्ने अपेक्षा गरिएको छ।

अभियोजकहरूले गत महिना हसिनाविरुद्धको मुद्दामा आफ्नो प्रतिवेदन पेश गरेका थिए र अदालतले आइतबार औपचारिक आरोपहरू जारी गरेर कार्यवाही सुरु गर्ने अपेक्षा गरेको छ।

आईसीटीका मुख्य अभियोजक ताजुल इस्लामले मे १२ मा हसिनामाथि ‘दुरुत्साहन, उक्साहट, संलग्नता, सूत्रधार र जुलाई विद्रोहको क्रममा सामूहिक हत्या रोक्न असफल भएको’ गरी कम्तीमा पाँच वटा आरोप लगाइएको बताएका छन्।

अनुसन्धानकर्ताहरूले भिडियो फुटेज, अडियो क्लिप, हसिनाको फोन वार्तालाप, हेलिकप्टर र ड्रोन गतिविधिको रेकर्ड, साथै उनीहरूले अनुसन्धानको भागको रूपमा दमनका पीडितहरूको बयान संकलन गरेका छन्।

प्रर्वप्रधानमन्त्री हसिना भारतमा स्वनिर्वासित जीवन बिताइरहेकी छन् र ढाकाबाट पक्राउ पुर्जी र सुपुर्दगी आदेशको अवहेलना गर्दै व्यक्तिगत रूपमा मुद्दाको सामना गरिरहेकी छन्।–रासस/एएफपी

प्रकाशित: १८ जेठ २०८२ १५:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast