
काठमाडौँ– नेपालमा मनसुन भित्रिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार औसतभन्दा १३ दिनअघि अर्थात् जेठ १८ गते आइतबार (जुन १) मनसुन प्रवेश भएको हो। नेपालमा बंगालको खाडीबाट मनसुन प्रवेश गर्छ। यसपालि मनसुनको अवधि १२२ दिनको हुनेछ। असोज १४ (सेप्टेम्बर ३०)मा मात्रै मनसुन नेपालबाट बाहिरिने विभागको अनुमान छ।
मनसुनमा देशभर चार लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित हुने आकलन गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको छ।
सबैभन्दा धेरै जनसंख्या लुम्बिनी प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा प्रभावित हुने आकलन छ। ‘यसपटक मनसुनजन्य विपत्का घटना बढ्ने सम्भावना छ। बागमती र गण्डकी कम प्रभावित हुनेछन्’, मौसमविद् मीनबहादुर अर्याल भन्छन्।
प्राधिकरणले लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै पाँच लाख २३ हजार ६५६ जनसंख्या प्रभावित हुने आकलन गरेको छ। उक्त प्रदेशमा एक लाख १९ हजार ८३० घरधुरी प्रभावित हुने अनुमान गरिएको छ। लुम्बिनीपछि बागमती प्रदेशको जनसंख्या प्रभावित हुने अनुमान छ। बागमतीमा तीन लाख २७ हजार ३७६ जना मनसुनबाट प्रभावित हुने प्राधिकरणको अनुमान छ।
गण्डकी प्रदेशमा दुई लाख ८७ हजार १०७, कोशीमा दुई लाख ७५ हजार ८६७, मधेशमा दुई लाख २८ हजार ६८७, सुदूरपश्चिममा दुई लाख २७ हजार ७३० र कर्णालीमा सबैभन्दा कम एक लाख २७ हजार ३०८ जनसंख्या मनसुन अवधिमा प्रभावित हुने अनुमान छ।
गत वर्ष कति क्षति भयो?
पछिल्लो एक वर्ष मा मनसुनजन्य विपत्मा दुई हजार १३८ घटना घट्दा ४९५ जनाको मृत्यु भएको तथ्यांक छ। ६६ जना बेपत्ता हुँदा ५२२ जना घाइते भएका छन्। १० वर्षमा १० हजार ८२३ परिवार प्रभावित हुँदा आठ हजार ५८६ घरमा क्षति पुगेको छ।
गत वर्षमा दुई हजार १३८ मनसुनजन्य विपद्का घटना भएका थिए। बाढीका ३९९ घटना हुँदा ९१ जनाको मृत्यु भएको थियो। १८ जना बेपत्ता भएका थिए। बाढीबाट दुई हजार २२८ परिवार प्रभावित भएकामा दुई ६३५ घरमा क्षति पुगेको छ।
यसैगरी ९४३ ठाउँमा पहिरो जाँदा ३४४ जनाको मृत्यु भएको थियो भने ४८ जना बेपत्ता भएका थिए। पहिरोबाट छ हजार ४४८ प्रभावित परिवार हुँदा पाँच हजार ७०३ घर क्षति पुगेको थियो।
वर्षाका कारण ५३८ घटना हुँदा आठजनाको मृत्यु भएको थियो। वर्षाबाट एक हजार ८१२ परिवार प्रभावित हुँदा २३२ घरमा क्षति पुगेको थियो। २५८ ठाउँमा चट्याङ पर्दा ५२ जनाको मृत्यु भएको थियो।
१० वर्षमा भएका घटना
पछिल्लो १० वर्ष (२०७२ देखि २०८१ सम्म) मा विपत्का आठ हजार ४१८ घटना हुँदा दुई हजार ३१७ जनाको मृत्यु भएको थियो। यस अवधिमा ४१९ जना बेपत्ता भएको तथ्यांक छ भने दुई हजार ६४९ जना बेपत्ता भएका छन्।
प्राधिकरणका अनुसार यस अवधिमा ५६ हजार ७०५ जना मौसमजन्य विपत्बाट प्रत्यक्ष प्रभावित भएका छन्। ३६ हजार ४७९ घरमा क्षति पुग्दा १९५ पुलमा क्षति पुगेको छ। यस अवधिमा तीन हजार ५३२ ठाउँमा पहिरो जाँदा एक हजार २९६ जनाको मृत्यु भएको थियो। एक सय ९२ जना बेपत्ता र एक हजार १३६ जना घाइते भएका थिए। १७ हजार २३६ परिवार प्रभावित हुँदा १२ हजार ४०६ घरमा क्षति पुगेको छ।
एक हजार १८६ वटा चट्याङका घटना हुँदा ३८५ जनाको मृत्यु भएको थियो। चट्याङबाट एक हजार ३९ जना घाइते भएका थिए।
१० वर्षमा बाढीका एक हजार ६१४ घटना भएका छन्। बाढीमा परी ५३९ जनाको मृत्यु, २२६ जना बेपत्ता र १८२ जना घाइते भएका छन्। यसबाट ३२ हजार ९९७ परिवार प्रभावित बनेका छन्।
वर्षाका कारण ९७ जनाको मृत्यु हुँदा एकजना बेपत्ता भएका र २९१ जना घाइते भएको प्राधिकरणको विवरणमा उल्लेख छ।