 
                             
                                            काठमाडौँ- मनसुन लागेपछि डेंगु संक्रमण देखिन थालेको छ। जुनदेखि अगस्ट (असार–भदौ) सम्मलाई डेंगु संक्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ संक्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेंगु संक्रमण पुष्टि भइसकेको छ।
सबैभन्दा धेरै संक्रमितको सङ्ख्या काठमाडौँमा देखिएको छ। काठमाडौँमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० वटा संक्रमित भेटिएका छन्।
ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेंगुलाई शून्यमा नै ल्याउने र डेंगु गराउने लामखुट्टे सखाप नै पार्न भन्ने अवस्था सिर्जना गर्न नसकिए पनि नियन्त्रण भने गर्न सकिने बताए। उनले भने, ‘डेंगुको संक्रमण र मृत्युदर घटाउन सकिन्छ। यसका लागि सबै जनाको समन्वय आवश्यक हुन्छ । नागरिक, समुदाय, सरकारी–गैरसरकारी संस्था सबैले हातेमालो गर्नुपर्छ।’
डा. दाहालले यो वर्ष मनसुन छिट्टै सुरु भएको र मौसमविद्ले पानी धेरै पर्न सक्ने आकलन गरेकाले संक्रमण बढ्न सक्ने सम्भावना रहने सक्ने बताए।
‘यो वर्ष डेंगु संक्रमण बढ्छ वा स्थिर रहन्छ भनेर आकलन गर्न हामीसित भेक्टरको पर्याप्त तथ्यांक छैन। यद्यपि मनसुन केही अघि सुरु भएको र धेरै पानी पर्ने भनिएको हुनाले पानी जम्मा हुने र सञ्चित भएर बस्ने र लामखुट्टेको विकास हुने सम्भावनालाई नकार्न मिल्दैन’, उनले भने।
डा. दाहालका अनुसार सबैले डेंगु नियन्त्रणमा सबैले आआफ्नो ठाउँबाट बराबर सहभागिता जनाए तीनै तहले डेंगु नियन्त्रणसम्बन्धी आवश्यक कार्यक्रम डेंगु संक्रमण र यसबाट मृत्यु हुने दर पनि कम गर्न सकिन्छ। डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो। डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
यसबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहनुपर्छ। सुत्ने बेला झुलको प्रयोग गर्ने, पानी जम्मा गरी राखिएका ट्यांकी, ड्रम, गाग्री, बाल्टिनलाई लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्नुपर्छ।
आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक स्थानमा फाएिका काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, टिका बट्टा, प्लास्टिकजन्य वस्तुहरु तथा पानी जन्म नसक्ने अन्य भाँडा तथा सामग्रीलाई पानी नजम्ने गरी व्यवस्थापन गर्न विज्ञको आग्रह छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 