 
                             
                                            काठमाडौँ- नेपाल निवृत्त शिक्षक समाजले आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले प्रस्तुत गरेको बजेट वक्तव्यमा सेवा निवृत्त राष्ट्रसेवकप्रति विभेद भएको भन्दै गम्भीर आपत्ति जनाएको छ।
केन्द्रीय समिति, ललितपुरमा बसेको नेपाल निवृत्त शिक्षक समाजको बैठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’सरकारले प्रत्येक बजेट वक्तव्यमार्फत कार्यरत राष्ट्रसेवकहरूका लागि महँगीभत्ता वृद्धि गर्ने व्यवस्था गर्दै आए पनि सेवा निवृत्त राष्ट्रसेवकहरूको हकमा कुनै किसिमको सम्बाेधन नगरेको गम्भीर ध्यानाकर्षण भएको छ।’
अध्यक्ष ईश्वरबहादुर श्रेष्ठ र महासचिव अभिमन्यू गौतमद्वारा जारी विज्ञप्तिमा सरकारले महँगीभत्ता वृद्धि गर्दा सेवा निवृत्त राष्ट्रसेवकलाई बेवास्ता गर्नु अत्यन्तै विभेदपूर्ण भएको ठहर गर्दै घोर आपत्ति जनाइएको छ। समाजले सेवा निवृत्त राष्ट्रसेवकहरूको पनि जीवनयापनमा महँगीको प्रभाव बराबरी पर्ने भएकाले उनीहरूको निवृत्तिभरणमा समेत समानुपातिक वृद्धि हुनुपर्ने माग गरेको छ।
समाजले बजेटको यो पक्ष तत्काल सच्याउनुपर्ने माग राख्दै आगामी दिनमा अझ सशक्त रुपमा आवाज उठाउने चेतावनीसमेत दिएको छ। निवृत्त राष्ट्रसेवकहरू राज्यबाट सम्मान र सरोकारको अपेक्षा गरिरहेका बेला उनीहरूप्रति देखाइएको उदासीनता खेदजनक रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।


 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
 