स्कटल्यान्डसँग हार्‍यो नेपाली टोली, गुमायो शृंखला

हिमाल प्रेस ७ असार २०८२ ६:३६ | Saturday, June 21, 2025
स्कटल्यान्डसँग हार्‍यो नेपाली टोली, गुमायो शृंखला

काठमाडौँ- स्कटल्यान्डमा जारी त्रिदेशीय टी २० शृंखलाको अन्तिम खेलमा नेपाल घरेलु टिमसँग ३४ रनले पराजित भएको छ। शुक्रबार स्कटल्यान्डको ग्लासगोमा सम्पन्न खेलमा घरेलु टिमले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर १५९ रनमात्र बनाउन सक्यो ।

नेपालका रुपेश सिंहले सर्वाधिक ४३ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । कप्तान रोहित पौडेलले २७, आसिफ सेखले १४ र भीम सार्कीले १२ रन थपे ।

स्कटल्यान्डका ग्रिस ग्रेभ्सले तीन विकेट लिए । सफयान सरिफले दुई विकेट लिए । वार्क वाट, ब्रान्डन म्याकमुलम, र माइकल लियस्कले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको स्कटल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९३ रनको योगफल खडा गरेको थियो ।

स्कटल्यान्डका ओपनर जर्ज मुन्सीले ७८ रन बनाए । उनले ३९ बलमा पाँच चौका र ६ छक्का प्रहार गरे। ब्रान्डन म्याकमुलमले ४२ रन थप्दा माइकल लियस्कले २६ र म्याथ्यु क्रसले १७ रन बनाए।

नेपालका कुशल भुर्तेलले दुई विकेट लिए। सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले समान एक विकेट लिए। योसँगै नेपालले चार खेलको यो शृंखलामा दुई जित र दुई हारको नतिजा आत्मसात गरेको छ ।

नेपालले यसअघि पहिलो खेलमा नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा हार व्यहोरेको थियो । दोस्रो खेलमा स्कटल्यान्डलाई दुई विकेटले हराएको नेपालले तेस्रो खेलमा डचविरुद्ध ६ विकेटको जित निकालेको थियो। नेपालको हारसँगै श्रृंखला घरेलु टोलीकै कब्जामा परेको छ। रेट रनरेटको आधारमा स्टकटल्यान्ड नेपालभन्दा अघि रहेको थियो।

प्रकाशित: ७ असार २०८२ ६:३६ | Saturday, June 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast