सुन तस्करी प्रकरणकी आरोपी अमला रोका रिहालगत्तै पक्राउ

हिमाल प्रेस ९ असार २०८२ २१:१९ | Monday, June 23, 2025
सुन तस्करी प्रकरणकी आरोपी अमला रोका रिहालगत्तै पक्राउ

काठमाडौँ- एकसट्ठी किलो सुन तस्करी प्रकरणका आरोपी अमला रोकालाई आज (सोमबार) रिहालगत्तै प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ जिल्ला अदालतमा आज (सोमबार) भएको थुनछेक बहसपछि न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई दुई लाख धरौटीमा छाड्न आदेश दिएको थियो। अदालतको आदेशपछि रिहा भएगत्तै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो।

सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा रहेकाले उनलाई नियन्त्रणमा लिएर सम्पत्ति शुद्धीकरण विभागमा बुझाइएको जानकारी दिए। अमला सुन तस्करी प्रकरणमा पक्राउ परी हाल थुनामा रहेका बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन्। राजस्व अनुसन्धान विभागले २०८० साउन २ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास गरी बाहिरिएको झण्डै ६१ किलो सुन सिनामंगलबाट बरामद गरेको थियो।

त्यसको अनुसन्धानपछि प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलले अमलासहित २९ जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो। त्यसयता फरार रहेकी रोकालाई काठमाडौँको टोखाबाट असार ६ गते पक्राउ गरिएको थियो। अदालतमा पेस भएकी उनीविरुद्धको मुद्दामा आइतबार र आज (सोमबार) थुनछेक बहस भएको थियो।

प्रकाशित: ९ असार २०८२ २१:१९ | Monday, June 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast