सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच गृह मन्त्रालयमा सोमबार भएको छलफलमा सहभागी गृहमन्त्री रमेश लेखक, आन्दोलनरत यातायात व्यवसायी सम्वद्ध सङ्घ सङ्स्थाका प्रतिनिधिलगायत । तस्बिर : शेरबहादुर सिंह / रासस
काठमाडौँ- संघीय सरकार र यातायात व्यवसायीसँग मध्यरातमा ७ बुँदे सहमति जुटेको छ। सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राति सवा ११ बजेसम्म बसेको बैठकले ७ बुँदे सहमति गरेको हो। तर यातायात व्यवसायीले तत्काल बन्द नखोल्ने अडान राखेका छन्।
उनीहरूले गण्डकी प्रदेशलाई राइड सेयरिङ व्यवस्थापन तथा नियमन गर्न बनेको नियमावली स्थगन गर्न सिफारिस अघि नबढेसम्म बन्द स्थगित नहुने बताएका छन्।
अब संघीय सरकारको अनुरोधमा गण्डकी प्रदेशले नियमावली स्थगन गरेपछि मात्रै यातायात व्यवसायीको आन्दोलन टुंगिने भएको छ।
‘सरकारले बनाएको वार्ता समितिसँग ७ बुँदे सहमति भएको छ’, यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भने, ‘राइड सेयरिङसम्बन्धी नियमावली स्थगन गर्न सिफारिस गर्ने सहमति भएको छ। प्रदेशले तत्कालका लागि स्थगन गरेसँगै आन्दोलन फिर्ता हुन्छ।’
सिटौलाले गण्डकी प्रदेशले नियमावली फिर्ता नगर्दासम्म आन्दोलन जारी रहने बताए। उनले नियमावली स्थगनको पत्र आएसँगै व्यवसायीले सवारी साधन सञ्चालन गर्ने बताए।



