सभामुखले संसद् बैठक जबर्जस्ती अगाडि बढाउनु संसदीय मर्यादाविपरीत : लिङ्देन

हिमाल प्रेस २ असार २०८२ १३:११ | Monday, June 16, 2025
सभामुखले संसद् बैठक जबर्जस्ती अगाडि बढाउनु संसदीय मर्यादाविपरीत :  लिङ्देन

काठमाडौँ- गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भनिएको भिजिट भिसा प्रकरण र संसदीय मर्यादाको उल्लंघनको आरोप लगाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद् अवरोध गरेका छन्।

प्रतिनिधिसभाको साेमबारको बैठकमा राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले संसद्लाई जबर्जस्ती अगाडि बढाइएको भन्दै आपत्ति जनाउँदै राप्रपाको तर्फबाट बहिष्कारको घोषणा गरे।

‘यो संसद्मा एक सिट भएको पार्टी र सय सिट भएको पार्टीको समान मर्यादा हुन्छ,’ लिङ्देनले भने, ‘गणितमा फरक होला, सरकार बनाउन फरक होला तर विचार निषेध गर्न नपाइने गरी निर्वाचन प्रणाली बनाइएको हो।’

उनले सभामुख देवराज घिमिरेलाई संसद्को अभिभावकको भूमिका निभाउन आग्रह गरे। ‘सभामुख एक सिट र सय सिट दुवैको अभिभावक हुनुहुन्छ। महत्त्वपूर्ण विषयमा फरक मत रहेको बेला संसद् जबर्जस्ती अगाडि बढाउनु संसदीय मर्यादाविपरीत हो,’ लिङ्देनको भनाइ थियो। उनले थपे,‘संसद् कर्मकाण्डमा परिणत भएको अवस्थामा राप्रपा सहभागी हुँदैन। हाम्रो नाममा आउने बैठक भत्ता राजस्वबाट फिर्ता होस्।’

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद्मा नाराबाजी जारी राखेको छ। रास्वपा र राप्रपा दुवैले छानबिन समिति गठनको माग गर्दै आएका छन्।

प्रकाशित: २ असार २०८२ १३:११ | Monday, June 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast