संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन सुरू

हिमाल प्रेस १६ असार २०८२ १८:४९ | Monday, June 30, 2025
संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन सुरू तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ– संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन स्पेनको सेभियास्थित फेबिस प्रदर्शनी केन्द्रमा सोमबारदेखि सुरू भएको छ।

सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विश्वका राष्ट्रप्रमुख तथा सरकार प्रमुख र प्रतिनिधिहरू सहभागी छन्।

उद्घाटनसत्रमा स्पेनका नरेश फिलिप द्वितीय, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेज, संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले सम्बोधन गरे।

उद्घाटनसत्रमा प्रधानमन्त्री ओलीका साथ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका स्थायी प्रतिनिधि लोकबहादुर थापा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कुमारराज खरेल सहभागी भएका छन्।

‘इन्टरनेसनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स् (एफएफडी–४)’ का लागि राष्ट्रसंघका महासचिव गुटेरेस र स्पेनका प्रधानमन्त्री सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओलीबाट यो भ्रमण भएको हो।

विकासका लागि वित्तसम्बन्धी यो सम्मेलनमा विश्वका सबै सरकारका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधिहरू जुटेका छन्।

नेपालले अल्पविकसित, साना र टापु मुलुकको आवाजसमेतलाई अगुवाइ गर्दै सम्मेलनमा वकालत गर्नेछ। धनी मुलुकले गरिब र साना मुलुकका लागि गरेका लगानी प्रतिबद्धताको कार्यान्वयनका लागि पनि सम्मेलनमा छलफल हुनेछ।

सन् २०३० सम्म पूरा गर्नुपर्ने राष्ट्रसंघीय दिगो विकास लक्ष्यका लागि अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिन यो मञ्च महत्त्वपूर्ण हुने ठानिएको छ।

विश्वस्तरको वित्तीय संरचनामा सुधार गर्दै दिगो विकासका लागि तत्काल र दीर्घकालका लागि आवश्यक सहयोग र लगानीको चुनौतीमा सम्मेलन केन्द्रित रहनेछ।

यसले दिगो विकास, विकासका लागि वित्त र खासगरी विकास सहायता, लगानी, प्रविधि हस्तान्तरणलगायत मुद्दामा छलफल र निष्कर्ष निकाल्नेछ।

प्रकाशित: १६ असार २०८२ १८:४९ | Monday, June 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast