 
                             
                                            काठमाडौँ- विद्यालय शिक्षा विधेयक-२०८० माथिको छलफलका क्रममा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले शिक्षा प्रणालीमा विद्यमान ‘थरीथरीका शिक्षक’ को म्यापिङ कसरी हुने भन्ने प्रश्न समिति बैठकमा उठाएकी छन्।
शनिबार बसेको संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा श्रेष्ठले निजी विद्यालय, प्रारम्भिक बाल विकास (ईसीडी) केन्द्र र शिक्षक वर्गीकरणको विषयमा मन्त्रालयले अझै ठोस काम नगरेको भन्दै असन्तोष व्यक्त गरिन्।
‘विभिन्न थरीका शिक्षक छन्, ती सबैको म्यापिङ कसरी हुन्छ? हामीले विधेयकमा स्पष्ट व्यवस्था मागेका थियौं। यदि ती शिक्षकहरू राजनीतिक हस्तक्षेपबाट बनाइएका हुन् भने अब त्यो बाटो बन्द हुनुपर्छ,’ श्रेष्ठले भनिन्।
श्रेष्ठले शिक्षा मन्त्रालय आफैँले गराएको अध्ययनले ईसीडी दुईबर्से बनाइनुपर्छ भनेको स्मरण गराउँदै निजी विद्यालयलाई चारबर्से सञ्चालन गर्न दिन नहुने तर्क गरिन्। ‘निजीमा पनि दुईबर्से मात्र हुनुपर्छ। बाँकी दुई वर्ष त अभिभावकसँग पैसा झार्ने माध्यम मात्रै हो भन्ने सहमति किन हुँदैन?’ उनले प्रश्न गरिन्।
सार्वजनिक र निजी विद्यालयबीचको असमानता हटाउन सामुदायिक विद्यालयमा पनि दुईबर्से ईसीडी लागू गर्नुपर्ने बताउँदै श्रेष्ठले बजेटको स्रोत सुनिश्चित गर्न सांसदहरूलाई दिने तीन करोडको योजना बाँडफाँड रोक्नुपर्ने धारणा राखिन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
 