शिक्षा प्रणाली परिवर्तन गर्न सांसदहरूको माग

हिमाल प्रेस ८ असार २०८२ १३:५२ | Sunday, June 22, 2025
शिक्षा प्रणाली परिवर्तन गर्न सांसदहरूको माग

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक-२०८२ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका खर्च शीर्षकमाथि छलफल जारी रहँदा सांसदहरूले शिक्षा क्षेत्रको सुधार र बजेटमा प्राथमिकता दिनुपर्नेमा विशेष जोड दिएका छन्।

राष्ट्रिय जनमोर्चाका वरिष्ठ नेता तथा सांसद चित्रबहादुर केसीले नेपालमा शिक्षा प्रणालीको दिशा नै पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याउँदै भने,‘हामी हाम्रा युवालाई के पढाइरहेका छौँ? के सिकाइरहेका छौँ? अहिलेको शिक्षा प्रणालीले विदेश जानुपर्ने सोच मात्र तयार गरिरहेको हो कि भन्ने गम्भीर प्रश्न उठेको छ।’

उनले नेपालको शैक्षिक प्रणालीले देशमै काम गर्ने, सिर्जनशील र उद्यमशील जनशक्ति उत्पादन गर्न नसकेको बताउँदै शिक्षा प्रणाली परिवर्तनको माग गरे।

त्यस्तै, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि शिक्षा, महिला, बालबालिका र ज्येष्ठ नागरिकको हक अधिकार सुनिश्चितताका लागि प्रयाप्त र सन्तुलित बजेट आवश्यक रहेको बताए। ‘बालबालिकाको शिक्षा, महिला अधिकार र सुरक्षामा सरकारले बजेट कटौती गर्नु गलत छ,’ उनले भने।

गंगा कार्कीले पनि बजेटले दोलखालगायत क्षेत्रमा शिक्षाको पहुँच विस्तारमा पर्याप्त ध्यान नदिएको भन्दै आपत्ति जनाइन्। उनले कृषि, खेलकुद र पर्यटनसँगै शिक्षा पनि दीर्घकालीन विकासको मूल आधार भएको बताइन्।

सांसदहरूले शिक्षा क्षेत्रलाई सामाजिक रुपान्तरणको आधार मानेर सशक्त बनाउनु आवश्यक रहेको धारणा व्यक्त गरे। यसैबीच, बैठकमा अन्य सांसदहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन, महिला तथा बालबालिका मन्त्रालयको बजेट बृद्धि र युवालाई रोजगारमुखी कार्यक्रमको आवश्यकताबारे पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: ८ असार २०८२ १३:५२ | Sunday, June 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast