 
                             
                                            काठमाडौँ- शिक्षक सेवा आयोगको कार्यतालिका अनुसार प्रारम्भिक तह (प्रा.वि.) को शिक्षक विज्ञापन वैशाख मसान्तसम्म प्रकाशित हुनुपर्नेमा अहिलेसम्म नहुँदा तयारी गरेर बसेका हजारौं विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष तथा स्थायी शिक्षक हकहित मञ्चका केन्द्रीय संयोजक रमेशबाबु भट्टराईले टिप्पणी गरेका छन्।
शिक्षक सेवा आयोगले तालिकाअनुसार विज्ञापन खोल्ने प्रतिबद्धता जनाइसकेको अवस्थामा पनि प्रक्रिया अघि नबढ्नुमा शिक्षा मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको लापरवाही देखिएको भट्टराईको आरोप छ।
उनका अनुसार शिक्षक सेवा आयोगको कार्यतालिका अनुसार प्रा.वि. विज्ञापन वैशाख मसान्तसम्म हुनुपर्ने तर भएन। शिक्षक सेवा आयोग विज्ञापनका लागि तालिका बमोजिम प्रतिबद्ध भएता पनि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाईबाट प्राप्त दरबन्दी विवरणलाई प्रावि शिक्षकका कोटा आवश्यकभन्दा धेरै भएको, विद्यालय गाभिने क्रममा रहेको साथै मा.वि., नि.मा. विमा थप दरबन्दी आवश्यक रहेको अवस्थामा प्रा.विको दरबन्दी मा.वि., नि. मा.विमा गाभी पुनरावलोकन गर्ने भनी टिप्पणी उठाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाएको छ। जुन अहिले काम अगाडि नबढी फाइल टेबलमा बेबारिसे छ।
स्थानीय तहले हजारौं रिक्त दरबन्दी लुकाएको भन्दै अहिलेको उपलब्ध करिब २२०० कोटा विज्ञापन गर्दा पनि पुनरावलोकनमा असर नपर्ने स्पष्ट पारेको र तुरुन्त विवरण उपलब्ध गराउन शिक्षक सेवा आयोगले शिक्षा मन्त्रालयसँग समन्वय गरिरहेको जानकारी भट्टराईले दिएका छन्।
शिक्षक संघसंगठन पक्षीकरणको नाटक मंचन गर्दै नेताको घरदैलो चाहर्दै फुर्सद नभएको र दरबन्दी पुनरावलोकनकै पक्षमा रहेको स्रोत बताउँछ। परीक्षा तयारी गरेर बसेका विद्यार्थीको भविष्य माथि खेलबाड हुँदा राज्य निरीह र शिक्षक नेतृत्व मुकदर्शक रहेको भट्टराई बताउँछन्।
शिक्षामन्त्रीलाई पटकपटक सम्पर्क गर्दा उहाँले अनविज्ञता जनाउनु र मन्त्रालयले फाइलमाथि प्रक्रिया अगाडि नबढाउनु दुर्भाग्यपूर्ण भएको भन्दै भट्टराईले शिक्षक सेवा आयोगलाई स्वायत्त संवैधानिक संस्थाका रूपमा मजबुत बनाउने आवश्यकता औंल्याएका छन्।
‘शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई बारम्बार सम्पर्क गर्दा यस विषयमा अनविज्ञता जनाउनु र मन्त्रालयले फाइलमाथि कार्बाही नबढाउँदा शिक्षक सेवालाई स्वयत्त (संवैधानिक आयोगको रूपमा) संस्थाको रूपमा अघि बढाउन आम शिक्षाप्रेमीको माग छ,’ भट्टराईले भने।
यसैबीच, शिक्षक सेवाको परीक्षा तयारी गरेर बसेका विद्यार्थीहरू अदालत जाने तयारीमा रहेको जानकारी भट्टराईले दिएका छन्। पछिल्लो समय मन्त्रालयमै विज्ञापन खोल्न दबाब बढिरहेको र छिट्टै निर्णय हुने मन्त्रालय स्रोतले बताएको उल्लेख छ।
भट्टराईले शिक्षक सेवा आयोग अध्यक्ष मधुप्रसाद रेग्मीको कार्यशैलीबारे भनेका छन्,‘स्मरण रहोस्,मधुप्रसाद रेग्मी शिक्षक सेवा आयोगको अध्यक्ष भएपछि शिक्षक सेवा आयोगले व्यवस्थित रूपमा आफ्ना काम कार्बाही नियमित रूपमा अगाडि बढाएको छ।’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
 