शिक्षक आवधीक बढुवा न सहमतिमा न ऐनमा : भट्टराई

हिमाल प्रेस ४ असार २०८२ १२:१९ | Wednesday, June 18, 2025
शिक्षक आवधीक बढुवा न सहमतिमा न ऐनमा : भट्टराई

काठमाडौँ- नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष तथा स्थायी शिक्षक हकहित मञ्चका केन्द्रीय संयोजक रमेशबाबु भट्टराईले शिक्षकको आवधीक बढुवाको माग नौबुँदे, २७ बुँदे सहमतिमा नपरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

भट्टराईले सामाजिक सञ्जालमा लेख्दै आफूमाथि अनुचित व्यवहार भइरहेको र शिक्षकका मागलाई बेवास्ता गरिएको गुनासो गरेका छन् । ‘बोलम् कारबाहीको डण्डा– नबोलम् चित्त बुझ्दैन। आवधीक बढुवा नाैबुँदेमा पनि परेन। २७ बुँदेमा पनि परेन। ऐनमासमेत अत्तोपत्तो छैन। नियमावली मा हुन्छ रे! के तपाईं विश्वास गर्नुहुन्छ?’ भट्टराईले अन्य शिक्षकहरूलाईसमेत प्रश्न गरेका छन्।

नेपाल शिक्षक संघ संघीय कार्यसमितिले नेतृत्वविरुद्ध सामाजिक सञ्जाललगायतका माध्यमबाट अभिव्यक्ति दिने शिक्षकहरूलाई अनुशासनात्मक कारबाहीको तयारी थालेको छ।

नेपाल शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच गत जेठमा भएको २७ बुँदे सहमति र शिक्षा मन्त्रालय तथा नेपाल सरकारबीच वैशाख १७ गते भएको नाैबुँदे सहमतिमा स्थायी शिक्षकको माग नसमेटिएको भट्टराईको भनाइ छ।

उनले लामो समयदेखि शिक्षा ऐनमा गुणस्तरीय शिक्षासँगै सबै प्रकारका शिक्षक तथा कर्मचारीका माग समेटिनुपर्ने माग गर्दै आएका छन्। ऐन निर्माणको प्रक्रिया अगाडि बढिरहेको अवस्थामा भट्टराईले शिक्षकको हकहितका विषयमा स्पष्ट र प्रभावकारी धारणा नआएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

भट्टराईको भनाइ अनुसार स्थायी शिक्षकको हकहित सुनिश्चित गर्ने स्पष्ट प्रावधान न ऐनमा देखिएको छ न त अहिलेसम्मका सहमति बुँदामा उल्लेख छ । ‘हाम्रो माग अझै पनि छायामा परेको छ,’ उनको टिप्पणी छ।

प्रकाशित: ४ असार २०८२ १२:१९ | Wednesday, June 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast