 
                             
                                            पोखरा- प्रिन्सिपल एसोसिएसन अफ नेपाल (प्यान) को दोस्रो राष्ट्रिय शिखर सम्मेलन पोखरामा सम्पन्न भएको छ। सम्मेलनमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले विद्यालय तहको शिक्षामा सुधार ल्याउन प्रधानाध्यापकसहित सम्पूर्ण शिक्षकहरूको भूमिका निर्णायक हुने बताएका छन्।
सभापति थापाले विद्यालयमा शैक्षिक वातावरण बनाउन शिक्षकहरूले आफ्नो कर्तव्यप्रति गम्भीर हुनुपर्ने धारणा राख्दै भने, ‘शिक्षकहरूले केवल आफ्नो अधिकारको माग मात्र नगरी, कर्तव्य पनि पूरा गर्नुपर्छ।’
तर, उनले मन्तव्यका क्रममा ‘घरपायक शिक्षक भैंसी कराउँदा पनि पढाउन छोडेर घर जान्छ’ भन्ने अभिव्यक्ति दिए। सो कारण सम्मेलनस्थलमा उपस्थित अधिकांश प्रधानाध्यापकहरूले आपत्ति जनाएका थिए।
थापाले आगामी शिक्षा विधेयकमार्फत विद्यालय तहमा गुणस्तरीय सुधार ल्याउने तयारी भइरहेको जानकारी पनि दिएका थिए। सम्मेलनमा देशभरबाट आएका प्रधानाध्यापक, शिक्षाविद् तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
 