शिक्षकलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रको यस्तो आग्रह

हिमाल प्रेस ८ असार २०८२ १५:०७ | Sunday, June 22, 2025
शिक्षकलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रको यस्तो आग्रह

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरूका लागि विकसित ‘सिकाइ चौतारी’ अनलाइन पोर्टलमा अनिवार्य रूपमा दर्ता भई अभिमुखीकरण कोर्स पूरा गर्न आग्रह गरेको छ।

केन्द्रले सूचना प्रकाशित गर्दै https://learning.cehrd.gov.np पोर्टलमा शिक्षक अभिमुखीकरण (orientation) कोर्स उपलब्ध गराइएको जानकारी दिएको छ। सो कोर्स सफलतापूर्वक पूरा गरेपछि शिक्षकहरूले अनलाइन प्रमाणपत्र समेत प्राप्त गर्न सक्ने व्यवस्था गरिएको केन्द्रले जनाएको छ।

सूचनामा भनिएको छ, ‘शिक्षण–सिकाइ प्रक्रियामा सहजीकरण गर्न सिकाइ चौतारी पोर्टललाई व्यवस्थित गरी विभिन्न शैक्षिक सामग्री एउटै थलोबाट प्राप्त हुने बनाइएको छ।’

केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाइ (Education Development and Coordination Units), स्थानीय तह, सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई सिकाइ चौतारीको सक्रिय प्रयोगमा जोड दिन आग्रह गरेको छ।

त्यसैगरी प्रत्येक विद्यालयबाट कम्तीमा पाँच जना शिक्षकलाई अनिवार्य रूपमा पोर्टलमा दर्ता गराइदिन पनि अनुरोध गरिएको छ। साथै विद्यार्थी तथा अभिभावकहरूलाई पनि सिकाइ चौतारीको प्रयोगबारे जानकारी गराउन सम्पूर्ण शिक्षकहरूलाई आग्रह गरिएको छ।

सिकाइ चौतारी पोर्टलमा दर्ता गर्दा प्रयोगकर्ताको युजरनेम युनिक (Unique) बनाउन इमेल वा मोबाइल नम्बर प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ। दर्तापछि पोर्टलबाट खाता प्रमाणिकरण (Account Confirmation) का लागि पठाइएको इमेल प्रयोगकर्ताको Inbox वा Spam मा जान सक्ने भएकाले त्यसमा क्लिक गरी खाता प्रमाणित (verify) गर्नुपर्ने केन्द्रले जनाएको छ।

यदि प्रयोगकर्ताले इमेल प्राप्त नगरेमा, केन्द्रका व्यवस्थापकले दुई दिनभित्र खातालाई स्वतः प्रमाणिकरण गर्ने पनि जानकारी दिइएको छ।

शिक्षक अभिमुखीकरण कोर्स तथा सिकाइ चौतारी पोर्टलसम्बन्धी थप जानकारी केन्द्रको वेबसाइट www.cehrd.gov.np तथा सिकाइ चौतारी learning.cehrd.gov.np मा उपलब्ध रहेको केन्द्रले स्पष्ट पारेको छ।

प्रकाशित: ८ असार २०८२ १५:०७ | Sunday, June 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast