 काठमाडौँको गौरीघाटमा शनिबार समझदारीपत्र आदानप्रदान गर्दै वैदिक अनुसन्धान गुठी (वाग्) का सचिव सुशील थापा (दायाँ) र विश्व भुटानी हिन्दू संगठनका अध्यक्ष कमल धिमाल, साथमा वाग्.का अध्यक्ष डा. स्वामी केशवानन्द (बीचमा)। तस्बिर : हिमालप्रेस
                             काठमाडौँको गौरीघाटमा शनिबार समझदारीपत्र आदानप्रदान गर्दै वैदिक अनुसन्धान गुठी (वाग्) का सचिव सुशील थापा (दायाँ) र विश्व भुटानी हिन्दू संगठनका अध्यक्ष कमल धिमाल, साथमा वाग्.का अध्यक्ष डा. स्वामी केशवानन्द (बीचमा)। तस्बिर : हिमालप्रेस  
                                            काठमाडौँ- वैदिक अनुसन्धान गुठी (वाग्) र नेपालबाहिर पुनर्वास भएका सनातनी हिन्दूहरूको संस्था विश्व भुटानी हिन्दू संगठन, अमेरिकाबीच वैदिक वाङ्मय र सांस्कृतिक चेतनाको प्रवर्द्धनमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।
काठमाडौँको गौरीघाटस्थित वाग्को केन्द्रीय कार्यालयमा डा. स्वामी केशवानन्दको साक्षीमा गुठीका महासचिव सुशील थापा र संगठनका अध्यक्ष कमल धिमालले उक्त समझदारीपत्रमा शनिबार हस्ताक्षर गरेका हुन्।
समझदारीअनुसार वैदिक वाङ्मयलाई प्रविधिमैत्री बनाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्न, वैदिक चेतना अध्ययन-अनुसन्धान तथा विस्तार गर्न दुवै संस्था प्रतिबद्ध भएका छन्। सम्झौताअनुसार वैदिक सनातन धर्म तथा हिन्दू सांस्कृतिक सम्पदासँग सम्बन्धित पुस्तक, लेख, शोधपत्रलगायत आध्यात्मिक, धार्मिक तथा शैक्षिक सामग्रीको रूपरेखा, सम्पादन, अनुसन्धान र विश्लेषणमा संयुक्त सहकार्य गरिनेछ।
यसैगरी वैदिक कृत्रिम बुद्धिमत्तासम्बन्धी सामग्रीसमेत समावेश गर्दै सांस्कृतिक, धार्मिक तथा शैक्षिक सामग्रीहरूलाई संयुक्त रूपमा उत्पादन, प्रकाशन र प्रचारप्रसार गर्ने अर्को उद्देश्य रहेको छ।
वैदिक ग्रन्थ, दर्शन, भाषा र संस्कृतिको संयुक्त रूपमा अनुसन्धान तथा विश्लेषण गर्ने समझदारीपत्रमा उल्लेख छ। हिन्दू सांस्कृतिक धरोहर, समुदायमा चेतना अभिवृद्धि र सामाजिक कल्याण प्रवर्धन गर्ने उद्देश्यले संयुक्त रूपमा सम्मेलन, कार्यशाला, आध्यात्मिक भेला तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना, प्रचार र सञ्चालनमा दुवै संस्थाबीच सहकार्य गर्ने समझदारी भएको छ। समझदारीमा संस्कृत र नेपाली भाषाको संरक्षण र प्रवर्धनमा युवाहरूलाई लक्षित गरी कार्यक्रम गरिने उल्लेख छ।
वाग्का अध्यक्ष डा. स्वामी केशवानन्दले नेपालीहरू जहाँ बसे पनि उसको रगत र मूलवंश नेपालमा रहने बताए। उनले विदेशमा बसेका भुटानी नेपाली भाषीको धर्म, संस्कृति, परम्परा र वैदिक चेतनासँगको लगाव उच्चस्तरको रहेको स्पष्ट पारे।
‘हामीले यहाँ नेपालमा गर्दै गरेका कामहरू सनातन संस्कृतिको उत्थान हुनुपर्छ, वैदिक वाङ्मयको अभ्युदय हुनुपर्छ र विश्वमा फेरि वैदिक ध्वजा फैलाउनुपर्छ भन्ने हाम्रो विचार छ। तेस्रो देश पुनर्वास भएका भुटानी नेपालीको जरामा यही देखिन्छ। त्यसैले उहाँहरूसँग हामीले सहकार्य गर्न लागिएको हो’, उनले भने।
संगठनका कार्यलाई नेपालबाट कसरी सहयोग गर्ने र वागले यहाँ गरिरहेका कामलाई अमेरिकाबाट कसरी अगाडि बढाउन सकिन्छ भनेर दुई पक्षबीच कुरा मिलेको हुनाले समझदारी भएको उनको भनाइ छ। नेपालबाहिर बसेका नयाँ पुस्तालाई कसरी हाम्रा ज्ञानका स्रोतहरू हस्तान्तरण गर्न सकिन्छ भन्नेमा प्रवासी भुटानीको चिन्ता रहेको पनि उनले बताए।

डा. स्वामीले भने, ‘मन र विचारको सम्झौता सबैभन्दा माथि हुन्छ। त्यसमा रगत जोडिएको समझदारी धेरै माथि हुन्छ। हामीलाई वैदिक वाङ्मयले जोडिसकेको छ।’ उनले समझदारी वैदिक वाङ्मयको हितमा रहेको र विश्वभरि छरिएर रहेका अर्बौँ हिन्दूहरूका लागि सहकार्य गरिने बताउनुभयो। ‘हाम्रा ज्ञान परम्परा, हाम्रा चेतना परम्परा, हाम्रा आर्ष परम्परा, हिमवत् खण्डबाट उत्पन्न भएका ज्ञानका धारालाई विश्वभर प्रचार गर्न समझदारी भएको हो’, डा. स्वामीले भने।
विश्व भुटानी हिन्दू संगठनका अध्यक्ष कमल धिमालले वैदिक सनातन धर्मको सेवा, संरक्षण र विकासमा अनवरत अघि बढ्न यस्तो समझदारी कोसेढुंगा हुने बताए। ‘हामी भाषा, धर्म, संस्कार र संस्कृतिमा आबद्ध रही पूर्वीय दर्शन, पूर्वीय वाङ्मयलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ भनेर सक्रिय छौँ। नेपालका विद्वान् र बुद्धिजीवीहरू, विभिन्न संघसंस्थासँग काम गर्दै आएको छ’, उनले भने। संस्कार शिक्षा र पाठ्यपुस्तक नेपालबाट लैजानुपर्ने अवस्था छ। ओहायोमा धाम निर्माणका लागि काष्ठकलादेखि मूर्तिकलासम्मका नमुना नेपालबाट लैजानुपर्ने भएकाले यसमा सहजता प्रदान गर्न पनि सम्झौता महत्त्वपूर्ण रहेको धिमालको भनाइ छ।
अब संगठनले नेपालबाट गर्ने सबै काम वागमार्फत गर्ने स्प्पष्ट पार्दै धिमालले भने, ‘वैदिक सनातन धर्मको संरक्षण, संवर्धनन र विकासका लागि अमेरिकामा रहेका विश्व भुटानी हिन्दू संगठन मातहत रहेका विभिन्न कार्यक्रम र नेपालमार्फत गरिने कार्यक्रम संगठनमार्फत हुनेछ।’
वाग्का सचिव सुशील थापाले संगठनसँग समझदारी गर्दा अत्यन्त खुसी लागेको बताए। उनले भने, ‘हामीले वैदिक सनातनी संस्कारका लागि विभिन्न काम गर्दै आएका छौँ। हामी ध्येयलाई आफ्नो शक्ति लगाएर सफल बनाउन लागिपरेका छौँ। यसमा भुटानी संगठनले देखाएको सदासयताका लागि धन्यवाद।’
वैदिक अनुसन्धान गुठी (वाग्) वैदिक विज्ञान, गुरुकुल शिक्षा, सर्वोच्च ज्ञान र वैदिक कृत्रिम बुद्धिमत्ताको प्रवर्धनमा समर्पित संस्था हो। जसको उद्देश्य प्राचीन वैदिक ज्ञानलाई आधुनिक प्रविधिसँग एकीकृत गर्नु रहेको छ।
विश्व भुटानी हिन्दू संगठन सन् २०१३ मा स्थापना भएको र सन् २०१७ मा अमेरिकाको ओहायो राज्यमा औपचारिक रूपमा दर्ता भएको ५०१(सी)(३) प्रकारको गैरनाफामुखी संस्था हो। संगठनले वैदिक सनातन धर्मको संरक्षण र प्रवर्धन गर्दै आएको छ। यसैगरी संगठनले अमेरिकास्थित नेपाली/भुटानी हिन्दू प्रवासी समुदायको बौद्धिक, आध्यात्मिक, भाषिक तथा सांस्कृतिक गतिविधि प्रवर्धनमा सहयोग गर्दै आएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 