 
                             
                                            काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र, समावेशी शिक्षा शाखाले शैक्षिक सत्र २०८१ मा कक्षा ५ र ८ मा अध्ययनरत सार्वजनिक विद्यालयका विद्यार्थीहरूका लागि प्रदान गरिँदै आएको विपन्न लक्षित छात्रवृत्ति कार्यक्रममा विद्यार्थीहरूको बैंक खाता खोल्ने र प्रमाणीकरण गर्ने म्याद दोस्रोपटक थप गरिएको जनाएको छ।
‘विपन्न लक्षित छात्रवृत्ति व्यवस्थापन मापदण्ड २०६०’ को आधारमा PMT फारामको विश्लेषण गरी योग्य विद्यार्थीको प्रारम्भिक सूची तयार गरी केन्द्रको वेबसाइट www.cehrd.gov.np मा प्रकाशन गरिएको छ।
यसकार्यक्रमअन्तर्गत शैक्षिक सत्र २०८१ मा कक्षा ५ मा अध्ययन गरी फाराम भरेका र हाल कक्षा ६ मा अध्ययनरत सार्वजनिक विद्यालयका विद्यार्थीमध्ये प्रथम क्वाइन्टाइलमा परेका छात्रछात्रा र दोस्रो क्वाइन्टाइलमा परेका छात्राहरू छात्रवृत्तिका लागि योग्य ठहरिनेछन्।
त्यसैगरी, कक्षा ८ मा फाराम भरेका र हाल कक्षा ९ मा अध्ययनरत विद्यार्थीमध्ये प्रथम क्वाइन्टाइलका सबै छात्रछात्रा तथा दोस्रो क्वाइन्टाइलमा परेका छात्रा र प्राविधिक धार अध्ययनरत छात्रहरूलाई पनि छात्रवृत्तिमा समावेश गरिएको छ।
छात्रवृत्तिको रूपमा योग्य विद्यार्थीहरूले वार्षिक रूपमै प्रति विद्यार्थी ६ हजार रुपैयाँ प्राप्त गर्ने व्यवस्था गरिएको छ। छात्रवृत्तिको रकम विद्यार्थीको व्यक्तिगत बैंक खातामा सिधै जम्मा गरिने भएकाले सम्बन्धित विद्यालय र स्थानीय तहले विद्यार्थीहरूको खाता “क” वर्गको बैंकमा खोल्न सहयोग गर्नुपर्नेछ।
यसअघिको म्याद २०८२ जेठ २१ सम्म तोकिएको भए पनि व्यवहारिक आवश्यकताका कारण उक्त म्यादलाई २०८२ जेठ ३१ गतेसम्मका लागि थप गरिएको छ।
साथै, छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको विवरण अनिवार्य रूपमा EMIS प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ भने प्रकाशित नामावली सम्बन्धित विद्यालय, वडा तथा स्थानीय तहको वेबसाइट र सूचना पाटीमार्फत सार्वजनिक गरी सबैलाई जानकारी दिनुपर्ने निर्देशन केन्द्रले दिएको छ।
खाता प्रविष्टि तथा तथ्याङ्क प्रमाणीकरणसम्बन्धी सहयोगका लागि EMIS शाखामा सम्पर्क गर्न सकिने छ।
‘व्यवसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नारासहित यस कार्यक्रम कार्यान्वयनमा लैजान शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सम्बन्धित सबैलाई सक्रिय सहयोगको आग्रह गरेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             


 
  
  
  
  
  
  
  
  
  
 