विद्यार्थी संख्या घटेपछि स्याङ्जाका सामुदायिक विद्यालय समायोजन

हिमाल प्रेस २७ जेठ २०८२ १०:४२ | Tuesday, June 10, 2025
विद्यार्थी संख्या घटेपछि स्याङ्जाका सामुदायिक विद्यालय समायोजन विद्यालय। प्रतिनिधिमूलक तस्बिर

स्याङ्जा- वालिङ नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ। विद्यार्थी संख्या न्यून भएपछि नगर शिक्षा समितिले वालिङ-२ कसेदीको चक्रदेवी आधारभूत विद्यालय, वालिङ-६ को वनपाला आधारभूत विद्यालय, वालिङ-७ को विद्याज्योति आधारभूत विद्यालय, वालिङ १२ को प्रभात आधारभूत विद्यालय र वालिङ-१४ सिख्रेमा रहेको जनकल्याण आधारभूत विद्यालयलाई समायोजन गरिएको हो।

नगरपालिकाका शिक्षा शाखा प्रमुख ख्यामनारायण काफ्लेका अनुसार विद्यालयको भौगोलिक अवस्था, विद्यार्थी संख्यालाई आधार मानेर पाँचवटा आधारभूत विद्यालयलाई चालु शैक्षिकसत्रको सुरुवातदेखि नै समायोजन गरिएको छ। समायोजन भएका सबै विद्यालय कक्षा १-३ सञ्चालनमा रहेका थिए। समायोजन भएका पाँचवटा विद्यालयलाई पायक पर्ने नजिकैको अर्को विद्यालयमा मर्ज गरिएको उनले बताए।

‘अनुगमनका क्रममा समस्या देखिएका विद्यालयलाई नजिकैको पायक पर्ने विद्यालयमा समायोजन गरेका हौँ’, उनले भने, ‘ससाना विद्यार्थीलाई लामो दूरी पार गरेर विद्यालय जान कठिन नहुने गरी समायोजन गरिएको हो।’ विद्यालयमा अध्यापनरत शिक्षकलाई दरबन्दी कम तथा रिक्त रहेका अन्य विद्यालयमा समायोजन गरेर पठाइएको छ।

पछिल्लो समय संस्थागत विद्यालयतर्फ अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्नु, गाउँमा रोजगारी तथा अन्य सुविधाका कारण सहरतिर बसाइँ सर्नु, बजार केन्द्रित संस्थागत विद्यालयका सवारीसाधन गाउँगाउँमा पुगेर विद्यार्थी ल्याउनुलगायत कारणले गर्दा विशेषगरी गाउँका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या न्यून हुँदै गएको हो।

विद्यालयको हाजिरी पुस्तिकामा विद्यार्थी संख्या धेरै भए पनि नियमित विद्यालय आउने विद्यार्थीको संख्या कम हुने गरेको जनाइएको छ।

प्रकाशित: २७ जेठ २०८२ १०:४२ | Tuesday, June 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast