रास्वपा स्थापना दिवसमा डीपी : औचित्य पुष्टि भयो, रविमाथि झुटा आरोप लगाइयो

हिमाल प्रेस ७ असार २०८२ ९:२४ | Saturday, June 21, 2025
रास्वपा स्थापना दिवसमा डीपी : औचित्य पुष्टि भयो, रविमाथि झुटा आरोप लगाइयो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज आफ्नो तेस्रो स्थापना दिवस मनाइरहेको छ।

यस अवसरमा पार्टीले आफ्ना सभापति रवि लामिछानेविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरी षड्यन्त्र भइरहेको आरोप लगाउँदै यस्ता चुनौतीले पार्टीलाई थप एकताबद्ध र दृढ बनाएको बताएको छ।

पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आज एक शुभकामना सन्देश जारी गर्दै वैकल्पिक राजनीतिको बलियो जग निर्माण गर्ने यात्राको तीन वर्ष पूरा भएकोमा सम्पूर्ण पार्टी सदस्य र शुभचिन्तकहरूलाई बधाई दिएका छन्।

उनले छोटो अवधिमै प्राप्त जनविश्वासप्रति कृतज्ञता व्यक्त गर्दै पार्टी स्थापनाको औचित्य पुष्टि भएको उल्लेख गरेका छन्।

सन्देशमा भनिएको छ, ‘परिवर्तनका पक्षधर शक्तिलाई कमजोर बनाउन राज्य संयन्त्रको दुरुपयोग गरी सभापति रवि लामिछानेविरुद्ध अनेकौं मुद्दा लगाइएको छ। सभापतिको प्रत्यक्ष अनुपस्थितिले अभिभावकीय स्थान रिक्त भए पनि राज्यको अनुदार चरित्रले हामीलाई थप एकताबद्ध र दृढ भने बनाएको छ।’

रास्वपाले सभापति लामिछानेविरुद्धको मुद्दालाई कानुनी लडाइँमार्फत सशक्त बनाउँदै जनस्तरबाट समेत षड्यन्त्रको प्रतिवाद गर्ने जनाएको छ। साथै, पार्टी विस्तार र सुदृढीकरण अभियानलाई निरन्तरता दिँदै संघीय संसदमा आफ्नो उपस्थितिलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने संकल्प पनि गरेको छ।

कार्यवाहक सभापति अर्यालले दशकौंदेखिको ‘दलतन्त्रको सिण्डिकेट’ले सिर्जना गरेका विकृतिविसंगतिको भण्डाफोर गर्ने र विधिको शासन स्थापना गर्न खबरदारी गरिरहने बताएका छन्। उनले आगामी दिनमा महंगी, बेरोजगारी, स्वास्थ्य र शिक्षा जस्ता जनजीविकाका सवालमा सडकदेखि सदनसम्म अझ प्रखर रूपमा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

सन्देशको अन्त्यमा, अर्यालले आम नागरिकको विश्वासलाई नै पार्टीको सबैभन्दा ठूलो शक्ति मान्दै सुशासित र समृद्ध नेपाल निर्माणको संकल्प पूरा गर्न सबैलाई एकाकार हुन आह्वान गरेका छन्।

प्रकाशित: ७ असार २०८२ ९:२४ | Saturday, June 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast