 
                             
                                            काठमाडौँ- गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै पनि प्रकारको संलग्नता नरहेको बताएका छन्।
रास्वपा र राप्रपाको विरोधका बीच शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा आफूमाथि उठेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले राजनीतिक प्रतिशोध साँधेर आफूमाथि विभिन्न आरोप लगाएको उल्लेख गरेका हुन्।
आफूविरुद्ध नियोजित रूपमा षड्यन्त्र भएको भएको भन्दै उनले खेदसमेत प्रकट गरे। उनले संवैधानिक निकायले अनुसन्धान गरिरहेका बेला मन्त्रीहरूलाई छानबिन गर्दै जाने हो भने कुनै पनि मन्त्री बाँकी नरहने जिकिर गरे। उनले अध्यागमनका विषयमा अख्तियारले गर्ने छानबिनलाई प्रभावित पार्ने कुनै पनि काम नहुने बताएका छन्।
त्यस्तै गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नाविरुद्ध पार्टी कार्यालयमा नक्कली पीडित खडा गरिएको र कीर्ते जाहेरी तयार पारिएको भन्दै कारबाही गर्ने चेतावनी समेत दिए। उनले यस विषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच भएको सहमतिलाई अक्षरस कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाए।
गृहमन्त्रीले जबाफ दिँदै गर्दा रास्वपाका सांसदहरूले भने वेल घेराउ गर्दै नाराबाजी गरेका थिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 