 
                             
                                            काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि विरोध कायमै राख्ने निर्णय गरेको छ।
सिंहदरबारमा बसेको राप्रपा संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा सरकारको भूमिका झारा टार्ने खालको भएको निष्कर्ष निकाल्दै विरोध जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए।
उनका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्य सचिव शंकरदास बैरागीको नेतृत्वमा बनाएको छानबिन समिति ‘विश्वसनीय नभएको’ ठहर गरिएको छ। शाहीले भने, ‘शंकरदास बैरागी नेतृत्वको समिति झारा टार्ने कामको लागि बनाइएको हाम्रो ठहर छ।’
राप्रपाले यसअघि पनि संसद् बैठक बहिष्कार गर्दै आएको छ। उनीहरूले सभामुख देवराज घिमिरेले विरोधका बाबजुद बैठक सञ्चालन गरिरहेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन र गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै निरन्तर विरोध गरिरहेको छ।
रास्वपाले वेल घेरेर विरोध जनाउने रणनीति अपनाएको छ। अहिले रास्वपाको संसदीय दलको बैठक पनि सिंहदरबारमा जारी छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 