 
                             
                                            काठमाडौँ- राजसंस्था पुनर्स्थापना, हिन्दु राज्यको स्थापना र संघीयता खारेजीको माग गर्दै आन्दोलनमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाललगायत राजावादी समुहको कार्यक्रमले विद्यालयको पठनपाठन प्रभावित बनेपछि आन्दोलनस्थल परिवर्तन गर्न माग उठेको छ।
सिफलस्थित बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयले प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै आन्दोलनका कारण पठनपाठनमा समस्या भएको जानकारी दिएको हो।
विद्यालयको पत्रमा जेठ १५ गतेदेखि सुरु भएको आन्दोलनको प्रभाव झनै गहिरिँदै गएको उल्लेख गरिएको छ। विद्यालयका अनुसार सिफल चौरमा गरिएको नारा, जुलुस तथा चर्को आवाजमा संगीत बजाउँदा अध्ययन अध्यापनमा बाधा पुर्याएको छ। सुरक्षा चुनौतीसमेत सिर्जना भएको छ।
विद्यालयले प्रशासनलाई सम्बोधन गर्दै भनेको छ,‘यस सामुदायिक विद्यालयमा विभिन्न खालका समावेशी विद्यार्थीहरू अध्ययन गर्ने भएकाले बढी संवेदनशील हुनुपर्ने अवस्थामा यस्ता गतिविधिहरू भइरहेका छन्। विद्यालय शान्तिक्षेत्र भएकोले विद्यार्थीको अध्ययनको अधिकार खल्बल्याउने खालका गतिविधि तत्काल रोक्न अनुरोध गर्दछौं।’
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले भने राप्रपालगायत समुहलाई सिफल, बल्खु र कोटेश्वर क्षेत्रमा मात्र विरोध कार्यक्रम गर्न अनुमति दिएको छ। तर सिफल क्षेत्रमै विरोध जारी रहेपछि विद्यालयले वैकल्पिक स्थानको माग गरेको हो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
 