 
                            
                                            भरतकुमार रेग्मी हाल युराेपेली मुलुक अस्ट्रिया (युराेपको सानो मुलुक भए पनि हिटलर जन्मेको मुलुकले परिचित छ।) का लागि नेपालका आवासीय राजदूतका रूपमा कार्यरत छन्। उनी राष्ट्रसंघीय कार्यालय (अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी) र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूमा नेपालको स्थायी प्रतिनिधि पनि हुन्। स्याङ्जाका रेग्मीले कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्। लेखनमा रुचि राख्ने उनले २९ वर्षअघि परराष्ट्र मन्त्रालयमा अधिकृतबाट सेवा सुरु गरेका हुन्। उनी सेवा प्रवेशको दुई वर्षमा नै न्युयोर्क पोस्टिङ पाए त्यसपछि ल्हासा बसे। दक्षिण अफ्रिका चार वर्ष नियोग उपप्रमुख भएका उनी ओमानमा कार्यवाहक राजदूत रहे। त्यसपछि नयाँदिल्लीमा नियोग उपप्रमुखको भूमिकामा रहेर मन्त्रालय फर्केका उनी नीति योजना, विकास कूटनीति, प्रवासी मामिला विभाग प्रमुख भइसकेका छन्। परराष्ट्रमन्त्रीको सहयोगी रहेर पनि काम गरेका उनले दुई वर्षअघि अस्ट्रियाको भियनामा राजदूतको जिम्मेवारी पाएका हुन्। आफ्नो पोस्टिङहरूलाई केन्द्र बनाएर ‘मनसुन क्लाउड’ पुस्तकसमेत लेखेका उनी खारिएका ‘कर्मचारी कूटनीतिज्ञ’ मानिन्छन्। उनले अस्ट्रियाबाहेक ग्रिस, क्रोयसिया, साल्भाडोर, बोस्निया हर्जगोविना, अल्वानिया, म्यासेडोनिया र मन्टेनेग्रो गरी आठ मुलुक र आठ निकाय हेर्छन्। भियना आफैँ कूटनीतिक सहर हो। जहाँ राष्ट्रहरूबीचको कूटनीतिक सम्बन्धलाई व्यवस्थित गर्न राष्ट्रसंघको तत्त्वावधानमा सन् १९६१ मा भियनामा एक महासन्धिको प्रारूप तयार भएको थियो। १९६४ को अप्रिलदेखि त्यो लागू भयो र यसलाई नेपाललगायत विश्वका १९३ मुलुकहरूले अनुमोदन गरेका छन्। त्यही सहरमा रहेका उनै राजदूत रेग्मीसँग काठमाडौँ परामर्शमा आएका बेला हिमालप्रेसका चन्द्रशेखर अधिकारीले गरेको कुराकानी :
अस्ट्रियामा दूतावास खोलेपछि तपाईं दोस्रो राजदूत हुनुहुन्छ। पहिलो राजदूतलाई संसदीय सुनुवाइका क्रममा भियनास्थित दूतावासमा काम त पुग्छ? भनेर सोधिएको थियो। यही प्रश्न यहाँलाई गर्दा के भन्नुहुन्छ?
झट्ट हेर्दा राजदूतलाई बिजनेस नै नपुग्ने हो कि झैँ लाग्नु स्वाभाविक हो। किनकि अस्ट्रिया र नेपालबीचको दुईपक्षीय सम्बन्ध व्यापार लगायतको पाटो नियाल्दा त्यो सोच्नु अन्यथा नहोला तर त्यहाँबाट नियाल्ने मुलुक र नेपालीको उपस्थिति मात्र होइन, राष्ट्रसंघीय निकाय पनि ख्याल गर्दा हामीलाई त्यहाँ भ्याइनभ्याइ छ। म दुई वर्षमा छुट्टी मिलाएर नेपाल आएँ। युरोपका कतिपय मुलुकमा नेपाली कामदार र विद्यार्थीको संख्या बढ्दो छ। त्यो कामसँगै नेपालले प्रतिबद्धता जनाएको विषयमा बहस र छलफलमा उपस्थित हुनुपर्ने अवस्था पनि छ। हामी रोममा रहेको विश्व खाद्यसंगठन पनि नियाल्छौँ। त्यही कारण काम नपुग्ने भन्ने होइन। यसलाई थप विस्तार गर्नुपर्ने देखिन्छ। अहिले हामीले खर्च गर्ने भन्दा बढी त राजश्व नै उठाएर पठाउँछौँ। यसबाट नै स्पष्ट हुन्छ काम कुन गतिमा अघि बढेको छ भनेर। मलाई बिजनेस पुग्छ या पुग्दैन भन्ने प्रश्न संसदमा गरेको जानकारी छैन। तर अघिल्ला राजदूतलाई त्यस्तो प्रश्न गरेको सञ्चारमाध्यममा पढेको थिएँ। जनप्रतिनिधिले यत्तिको चासो राख्नुलाई अन्यथा लिन मिल्दैन। हामीलाई काम नपुगेको होइन, अधिक काम भएर कर्मचारी अभाव छ।
नेपाल र अस्ट्रियाबीच अहिले कस्तो सम्बन्ध छ? त्यहाँबाट नेपालमा दूतावास खोल्ने केही तयारी छ कि?
नेपाल र अस्ट्रियाबीच निकै राम्रो र बलियो सम्बन्ध छ। नेपाल र अस्ट्रियाबीचको सम्बन्ध ऐतिहासिक रूपमा मैत्रीपूर्ण, सहयोगपूर्ण र परस्पर सम्मानमा आधारित रहँदै आएको छ। औपचारिक कूटनीतिक सम्बन्ध सन् १९५९ मा स्थापना भए पनि दुवै देशबीचको सम्बन्धको जरो गहिरो छ। अस्ट्रियाले नेपालको विकासका क्षेत्रमा लामो समयदेखि सहयोग पुर्याउँदै आएको छ। चाहे त्यो पूर्वाधार विकास होस्, शिक्षा, जल तथा सरसफाइ, जलविद्युत् वा स्वास्थ्यजस्ता क्षेत्रहरू। नेपालका लागि अस्ट्रिया केवल विकास साझेदार मात्र होइन, विश्व समुदायमा सहयोगी मित्रको रूपमा चिनिन्छ।
अस्ट्रियाको सहयोगबाट धेरै पहाडी जिल्लामा साना जलविद्युत् आयोजनाहरू निर्माण गरिएका छन्, जसले ग्रामीण क्षेत्रमा ऊर्जा पहुँच बढाएको छ। त्यस्तै, उच्च शिक्षा तथा प्राविधिक तालिमका लागि अस्ट्रियामा नेपाली विद्यार्थीहरूको उपस्थितिलाई हेर्दा शिक्षा क्षेत्रमा पनि आपसी सम्बन्ध मजबुत छ। पछिल्लो समय हरित विकास, वातावरणीय संरक्षण र जलवायु परिवर्तनका सवालमा पनि दुवै देशबीच सहकार्यको सम्भावना बढ्दै गएको छ। अस्ट्रियामा रहेका नेपाली समुदायले पनि दुई देशबीचको सांस्कृतिक र जनस्तरीय सम्बन्ध मजबुत बनाउन योगदान गरेका छन्। अस्ट्रियाका सरकारी तथा गैरसरकारी संस्थाहरूले नेपालमा गएको भूकम्प, महामारीलगायत आपतकालीन अवस्थामा राहत र पुनर्निर्माणका लागि सहयोग पुर्याएका छन्, जसले सम्बन्धलाई अझ मानवीय बनाएको छ। यति मात्र होइन निजी क्षेत्रमा सहकार्य पनि बढेको देखिन्छ।

नेपाल र अस्ट्रियाबीच निजी क्षेत्रमा सहकार्य भन्नाले?
सीधा हेर्दा नेपालमा निर्माण भएको केबलकारको प्रविधि अस्ट्रियाबाट नै आएको हो। त्यहाँकै डिब्बाहरू यहाँ चलिरहेका छन्। २०५० सालकै दशकमा बनेको नेपालको पहिलो केबलकार मनकामना केबलकारको प्रविधि अस्ट्रियाबाट नै हो भने पछि बनेका चन्द्रगिरि हुन् या अरू सबै अस्ट्रियन प्रविधिमा बनेका छन्। यो भनेको निजी क्षेत्रको सहकार्य बढ्दो पनि हो। किनकि युरोपमा फ्रान्स, जर्मनीलगायत अन्य मुलुकको पनि केबलकारहरू विश्वभर चर्चित छन् तर नेपालमा अस्ट्रियाको हुँदा निकट सम्बन्ध भएको देखिन्छ। अतः भन्न सकिन्छ कि नेपाल-अस्ट्रिया सम्बन्ध आजको दिनमा बलियो मात्र छैन, यो आपसी विश्वास, साझेदारी र दीर्घकालीन हितमा आधारित एउटा सफल कूटनीतिक सम्बन्धको उदाहरण हो।
अस्ट्रियाले नेपालमा गर्ने सहयोगहरू अझै सक्रिय छन् त?
अवश्य। प्राविधिक शिक्षा, खानेपानी, वातावरण संरक्षण र स्वास्थ्य क्षेत्रमा केन्द्रित छ। अस्ट्रियाली सहयोगबाट नेपालका थुप्रै दुर्गम स्थानहरूमा साना जलविद्युत् आयोजना बनेका छन् जसले स्थानीय जनताको जीवनस्तर उकास्न सहयोग पुर्याएको छ। पहिलेको तुलनामा अहिले विश्वभर नै सहयोग कटौती हुँदै गएको कारण पनि केही कमी त देखिएको होला तर नेपालमा त्यस प्रकारको सहयोग आएको छ र आउनेछ।
पछिल्ला वर्षहरूमा दुवै मुलुकबीचका सम्बन्धमा नयाँ प्रगति के-कस्ता देखिएका छन्?
पछिल्लो समय जलवायु परिवर्तन, हरित ऊर्जा र नवीकरणीय स्रोतहरूको विकासमा सहकार्यको आयामहरू खुल्दै गएका छन्। अस्ट्रियामा रहेका नेपाली विद्यार्थी र पेसाकर्मीहरूले पनि दुई देशबीचको सेतुको काम गरिरहेका छन्। हाम्रो अन्तर्राष्ट्रिय मञ्चमा एकै प्रकारको स्वर गइरहेको छ। यसले गर्दा पनि दुईपक्षीय सम्बन्ध झन बलियो हुँदै गएको छ। दुईपक्षीय सम्बन्ध बलियो हुन बहुपक्षीय मञ्चमा एक अर्काका लागि गरिने सपोर्ट पनि महत्त्वपूर्ण हुन्छ। कूटनीतिको दुई आयाम हुन्छ, एक दुईपक्षीय अर्को बहुपक्षीय। यही आयामलाई ख्याल गरेर हामी अघि बढ्ने हो।

नेपाल-अस्ट्रिया सम्बन्ध आगामी दिनमा कस्तो रहला?
निकै सकारात्मक देख्छु। दुवै मुलुक साना तर अन्तर्राष्ट्रिय मञ्चमा सक्रिय छन्। साझा चासोका विषयहरूमा अझ प्रभावकारी सहकार्यको सम्भावना पनि देखिरहेको छु। नेपाल र अस्ट्रियाबीचको ऐतिहासिक सम्बन्धको पाटो धेरै पुरानो र सम्मानपूर्ण रहँदै आएकोले पनि आगामी दिनमा पनि विगतकै सम्बन्धले निरन्तरता पाउने देख्छु। नेपाल र अस्ट्रियाबीच औपचारिक कूटनीतिक सम्बन्ध सन् १९५९ मा स्थापना भएको हो। यो युरोपेली राष्ट्रहरूसँग नेपालले सम्बन्ध विस्तार गर्ने प्रारम्भिक चरणहरूमध्ये एक थियो। त्यसबेलादेखि नै दुई मुलुकबीच मित्रता र आपसी सम्मानमा आधारित सम्बन्ध विकास हुँदै आएको छ। कूटनीतिक सम्बन्ध कायम भएलगत्तै नै अस्ट्रियाले १९६० र ७० को दशकमा नेपाललाई विकास साझेदारको रूपमा राखेर सहायता गर्न थालेको पाइन्छ।
बहुपक्षीय मञ्चमा समान आवाज भन्नाले कस्तो विषयलाई फोकस गर्नुभएको होला?
नेपाल र अस्ट्रिया दुवै संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्र हुन्। यी देशहरूले अन्तर्राष्ट्रिय शान्ति, मानव अधिकार, वातावरण संरक्षण र साना देशहरूको आवाज बुलन्द गर्ने सवालमा संयुक्त रूपमा काम गरेका छन्। त्यसैले मैले समान आवाज भनेको हुँ। यति मात्र होइन दुईपक्षीय रूपमा पर्यटन र संस्कृतको क्षेत्रमा पनि काम भएका छन्। त्यसको प्रचार बहुपक्षीय मञ्चमा हुने गरेको छ। अस्ट्रियाली पर्वतारोहण टोलीहरू नेपालको हिमाली क्षेत्रमा आउने क्रमसँगै दुई मुलुकबीच प्रगाढता बढेको हो। नेपाली विद्यार्थी, पेसेवर र आप्रवासी समुदायले अस्ट्रियासँगको सम्बन्धमा सांस्कृतिक सेतुको भूमिका खेलेको उनीहरूले पनि बहुपक्षीय मञ्चमा धारणा राख्दा नेपाल र अस्ट्रियालाई केन्द्रमा राखेको पाइन्छ। समय-समयमा भएको उच्चस्तरीय सरकारी भ्रमणले दुईपक्षीय सहकार्यसँगै बहुपक्षीय विषय उठान गरेका हुन्छन्। एकअर्कामा सहमत भएका हुन्छन्।
कतिपय सम्बन्धहरू औपचारिक मात्र देखिन्छ तर नेपाल-अस्ट्रिया सम्बन्ध केवल कूटनीतिक औपचारिकतामा मात्र नभई आपसी सहयोग, विकास साझेदारी र मित्रवत् सम्बन्धमा आधारित ऐतिहासिक सम्बन्ध भन्न सकिन्छ। अनि भियनास्थित नेपाली दूतावास केवल अस्ट्रियासँगको सम्बन्धमा सीमित छैन। भियनासहित आठ मुलुकहरूसँगको सम्बन्ध साथै संयुक्त राष्ट्रसंघका प्रमुख नियोगहरूमा नेपालको स्थायी प्रतिनिधित्व समेत सम्हाल्ने हुनाले दुवै पक्षको काम उत्तिकै नियाल्न आवश्यक छ। दूतावासले नेपालको बहुपक्षीय कूटनीति, विकास, आणविक सुरक्षा, औद्योगिक समृद्धि र कानुनी व्यवस्थामा अन्तर्राष्ट्रिय संलग्नतालाई सशक्त बनाउन सक्रिय भूमिका निभएको छ। यसमा हामी चुक्ने छैनौँ। मन्त्रालयबाट आउने निर्देशन अनि प्राथमिकता पनि उत्तिकै महत्त्वपूर्ण हुने हुनाले त्यसमा पनि सक्रियताको आवशयक छ। भियनामा अहिले साँच्चै भन्दा स्टाफको पनि कमी छ। यद्यपि हामीले काम गरिरहेका छौँ।
सप्रमाणीकरणमा परेका मुलुकहरू हेर्दा पर्ने समस्याहरू के कस्ता होलान्?
हामीले यहाँबाट अस्ट्रिया बाहेक नै सात मुलुक हेर्छौँ। ती मध्ये कतिपय मुलुकहरूमा नेपालीको संख्या बढ्दो छ। नेपालीहरू अध्ययन र रोजगारी गर्न आइरहेका छन्। जसले गर्दा त्यहाँ पुगेर पासपोर्ट सेवा दिने कार्य भनौँ या उनीहरूलाई समस्या पर्दा सम्बोधन गर्ने कार्य सहज छैन। यद्यपि युरोपको उडान कनेक्सन, रेल मार्ग र सडक सञ्जालले पनि उत्तिकै सहजीकरण गरेको छ। हामीले सेवा त दिएका छौँ तर सोचेजस्तो सहज छैन। तर पनि नेपालजस्तो मुलुकले यसरी दूतावास राखेर आफ्नो सम्बन्ध कायम गर्दै आफ्ना नागरिकको ध्यानमा यो स्तरको काम गर्नु पनि चानचुने विषय होइन। जे छ ठिक छ तर अझ राम्रो बनाउँदै जानुपर्छ भन्ने मेरो स्पिरिट हो। सरकारले पनि त्यही चाहेको बुझ्छु।
युरोपमा नेपालबाट के कस्ता क्षेत्रमा काम गर्नेहरू आउँदा रहेछन्?
पहिले त युरोपका चर्चित मुलुकहरूमा अध्ययन गर्न आउने र यतै बस्ने कोही काम गर्ने गरेको देखिएको थियो। अहिले अलिक फरक रहेछ। पहिले आउनेहरू यहाँ जमेर बसेकै छन्। राम्रा स्थानमा काम गरिररहेका पनि छन्। अहिले पनि ती मुलुकमा प्रविधिमा दख्खल राख्ने युवाको माग छ। नेपालमा बसेर सेवा दिनेको पनि माग छ नै। त्यो काम गरिररहेका पनि देख्छौँ। तर युरोपका चर्चाबाट बाहिर रहेका मुलकमा पनि नेपालीहरू कामदारका रूपमा आउन थालेकाे पाइन्छ। कतिपय ती मुलुकमा अध्ययनका लागि आएर काम गर्ने र यतै बस्ने व्यवस्था मिलाउने नेपाली पनि भेटिएका हुन्छन्। यसले गर्दा युरोपमा ध्यान दिने हो भने हामीले दक्ष, अर्धदक्ष र अदक्ष कामदारको लागि गन्तव्य हुनसक्छ। नेपालीहरू प्राय: खाडी मुलुकमा मात्र अभ्यस्त भएकाले यताको श्रम बजारबारे जानकारी नभएको हुनसक्छ। यता पनि त्यो स्तरको कामदार सधैँ आवश्यक छ। यसमा हामीले पनि अध्ययन गरिरहेका छौँ। ग्रिस, साल्भाडोर क्रोयसियामा नेपालीहरू बढ्दो छन्।
परराष्ट्र मन्त्रालयको महाशाखासँग सहकार्य गर्न यहाँहरूलाई खासै समस्या नहोला तर कर्मचारी भन्दा बाहिरबाट आउनेलाई अलिक समस्या हुने रहेछ नि, होइन?
यस्ता विषय सायद व्यक्तिमा भर पर्ला। म राजनीतिक नियुक्ति लिएका राजदूतसँग पनि दूतावासमा काम गरेँ। खै त्यस्तो गुनासो उहाँहरुबाट आएको जानकारी भएन। डेक्ससँग सहकार्य हुनैपर्छ। हाम्रोमा पहिले जनशक्ति कम हुँदा डेस्कबाट तत्काल सम्बाेधन हुन गाह्रो भएको थियो होला। अब त दरबन्दी पनि भने जस्तै भएको छ। दूतावासमा पनि कर्मचारी थपिएका छन्। ठूला महाशाखालाई फोरिएको छ। अब चुस्त हुँदै जाने देख्छु। चुस्त र प्रभावकारी हुनै पर्छ। हाम्रो जस्तो मुलुक कूटनीतिमा अब्बल हुनैपर्छ। त्यसमा राजनीतिक नेतृत्वले पनि राजदूत नियुक्त गर्दा कुन मुलुकमा कस्ता व्यक्ति पठाउने सोच्नु पर्छ। राजदूत नियुक्त भइसकेपछि यो यताबाट यो उताबाट भन्न हुँदैन। सबैले मुलुकको हितलाई सर्वोपरी ठानेर काम गर्ने हो। त्यसमा चुक्न हुन्न। डेस्कसँग सहकार्यबिना त दूतावासले काम नै अघि बढाउन सक्दैन। मन्त्रालयको डेस्क बलियो हुनैपर्छ।
तपाईं त साहित्य लेखनमा चासो राख्ने व्यक्ति, एउटा पुस्तक पनि लेखिसक्नुभयो। अन्य पाइपलाइनमा छन् कि?
म पुस्तक अध्ययन गर्न रुचाउने व्यक्ति हुँ। म नन-फिक्सन र फिक्सन दुवै पढ्न रुचाउँछु। मेरो कूटनीतिक पोस्टिङहरूलाई आधार बनाएको पुस्तक यहाँले भनि हाल्नुभयो। कतिपय वास्तविक घटनालाई फिक्सनको रुपमा बाहिर ल्याउन पर्ने हुन्छ। नेपाल सरकारको कर्मचारी भएका कारण पदमा रहँदा वा नरहँदा पनि हामीले केही कुराहरू सीधा भन्न मिल्दैन। त्यही भएर जानकारी हुने ढंगले फिक्सनका रूपमा बाहिर ल्याएँ। यहाँहरूले मन पराउनुभयो। अब सेवा निवृत्त भएपछि यहाँहरूसँगै लेखपढ गर्ने त हो। लेख्ने नै हो ।



 
                                              
                                              
                                             ![राजनीतिक हस्तक्षेपले खस्कियो शैक्षिक क्षेत्र [हवाई विश्वविद्यालयका प्रा.डा. समीरकुमार खनालसँगको भिडियो कुराकानी]](https://himalpress.com/wp-content/uploads/2025/10/Samir-Khanal.jpg) 
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 