 फाइल तस्बिर।
                             फाइल तस्बिर। 
                                            झापा- मेचीनगर नगरपालिकामा घरपालुवा पशुहरूमा दुई खतरनाक रोग ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’ को संक्रमण पुष्टि भएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीका अनुसार वडा नं २, ३, ७, ८, ९ र १४ मा गाई र बाच्छीहरूमा ‘लम्पी स्किन’ तथा वडा नं ६ मा रहेको एक बंगुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’को संक्रमण भेटिएको हो।
अधिकारीका अनुसार पशु सेवा शाखाबाट सात जना प्राविधिक कर्मचारी संक्रमणको रोकथाम, परीक्षण र उपचारका लागि खटाइएका छन्। उनले कोशी प्रदेश र संघीय सरकारका सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी पनि दिए।
पशु सेवा शाखाका प्राविधिक छत्र राईका अनुसार ‘लम्पी स्किन’को संक्रमण देखिएपछि प्राविधिक टोलीले किसानको गोठमै पुगेर उपचार सुरु गरिसकेको छ। संक्रमित गाई र बाच्छीहरूलाई अलग राखेर मल्हम लगाउने, पेनकिनर औषधी खुवाउने र गोठको सरसफाइका लागि फिनेललगायतका सामग्री वितरण गरिएको छ। रोगबाट उच्च ज्वरो, घाउ-खटिरा, खाना नखाने र दूध कम हुने जस्ता लक्षण देखिन्छन्।
रोगको जोखिम नियन्त्रणका लागि संक्रमण देखिएको क्षेत्रको ५०० मिटर वरपरका करिब १५० गाईवस्तुमा ‘रिङ भ्याक्सिन’ लगाइएको छ। यसैगरी, वडा नं ६ स्थित बबिता गहतराजको बंगुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’का कारण हालसम्म ८० वटा बंगुर मरेका छन्। पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणबाट यो रोग पुष्टि भएको पशु सेवा शाखा प्रमुख विक्रम गुरुङले जानकारी दिए।
‘फार्ममा एकपछि अर्को बंगुर मर्न थालेपछि परीक्षणका लागि नमुना पठाइएको थियो,’ गुरुङले भने, ‘रिपोर्टमा अफ्रिकन स्वाइन फ्लू पुष्टि भएपछि नियन्त्रण र सचेतना कार्यक्रम तीव्र पारिएको छ।’
फार्म सञ्चालक गहतराजले जेठ महिनाभरिमा भएको ठूलो क्षतिले व्यवसाय नै धरापमा परेको बताइन्। पशु सेवा शाखाको टोली प्रभावित क्षेत्र वरपर औषधोपचार, जनचेतना र जैविक सुरक्षा उपायहरू अवलम्बन गरिरहेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 