मानसाग्निको निबन्धसंग्रह ‘चैतन्यबोध’ सार्वजनिक

हिमाल प्रेस १० असार २०८२ २१:०२ | Tuesday, June 24, 2025
मानसाग्निको निबन्धसंग्रह ‘चैतन्यबोध’ सार्वजनिक

काठमाडौँ- साहित्यकार, याेगगुरु तथा प्राकृतिक चिकित्सक मानसाग्नि (डा. हरिप्रसाद पोखरेल)को निबन्धसंग्रह ‘चैतन्यबोध’ सार्वजनिक भएकाे छ। काठमाडौँमा एक कार्यक्रम गर्दै पुस्तक वरिष्ठ समालाेचक प्रा.डा. गोविन्दराज भट्टराई, समालाेचकहरू प्रा.डा. कुमारप्रसाद कोइराला, प्रा.डा. हेमचन्द्र नेपाल, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, निबन्धकार मोमिला तथा समालाेचक महेश पाैड्लयालले कृति लोकार्पण गरेका हुन्।

कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.गोविन्दराज भट्टराईले निबन्धमा पूर्वीय दर्शन, वेद वेदाङलाई पठनीय संग्रहमा प्रस्तुत गरिएको बताए। यस कृतिले पूर्वीय चेतनालाई प्रकाशमा ल्याएकोमा खुसी व्यक्त गर्दै रसपूर्ण पुस्तक भएको उल्लेख गरे।

प्रा.डा. हेमचन्द्र नेपालले कृतिमाथि पाठकीय मन्तव्य राख्दै पुस्तकलाई दार्शनिक निबन्धहरूको सँगालो भएको बताए। कृतिले सूक्ति जस्ता लाग्ने गहन अभिव्यक्तिमार्फत सबैलाई प्रेरणा दिने उनकाे ठहर थियाे।

प्रा.डा.लक्ष्मणप्रसाद गौतमले यसमा समावेश निबन्धहरूले स्वयंलाई चिन्न मद्दत पुर्‍याउने बताए। त्यस्तै निबन्धकार मोमिलाले मानसाग्निभित्र ज्ञान र अनुभवकाे अथाह काेश रहेकोले उनका लागि निबन्ध विधा सटिक रहेकाे टिप्पणी गरिन्।

प्रा.डा.कुमारप्रसाद कोइरालाले पूर्वीय दर्शन अध्ययन गर्न चाहनेहरूका लागि एउटा उत्कृष्ट पुस्तक बजारमा आएको भन्दै कृतिमाथि आफ्नो धारणा राखे। उनले भने, ‘दर्शनका व्याख्याता थुप्रै रहेकाे परिपेक्ष्यमा मानसाग्निकाे कृतिकाे वास्तविक मूल्य त्यसभित्र रहेकाे निबन्धात्मकताकाे गुणले निर्धारण गर्नेछ।’

पेज टर्नरले बजारमा ल्याएको कृतिको मूल्य ५२५ रुपैयाँ रहेको छ।

प्रकाशित: १० असार २०८२ २१:०२ | Tuesday, June 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast