राजनीतिमा अब नयाँ विचार र संगठनको समय : भट्टराई

हिमाल प्रेस १३ असार २०८२ ७:४२ | Friday, June 27, 2025
2
SHARE
राजनीतिमा अब नयाँ विचार र संगठनको समय : भट्टराई

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले माओवादी आन्दोलनले आफ्ना युगीन कार्यभार पूरा गरिसकेको बताउँदै नयाँ विचार, नीति, संगठन र शैलीसहितको राजनीतिक अभियान आवश्यक भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले अब इतिहास फर्केर हेर्ने नभई भविष्यतिर उन्मुख भएर अघि बढ्नुपर्ने बताए।

डा.भट्टराईले नेपालको समकालीन राजनीतिक रूपान्तरणमा माओवादी आन्दोलनको ऐतिहासिक भूमिका रहेको स्मरण गराउँदै भने,‘हामीले तत्कालीन राजतन्त्रात्मक सामन्ती प्रणालीको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्‍यौं। २०७२ असोज ३ मा संविधानसभाबाट जारी संविधान त्यसको महत्वपूर्ण उपलब्धि हो, जसप्रति हामीलाई गर्व छ।’

उनले यो परिवर्तन कुनै आकस्मिकता नभई ऐतिहासिक आवश्यकता र जनचाहनाको परिणाम भएको स्पष्ट पारे। उनले भने,‘इतिहास स्थिर हुँदैन, यो निरन्तर गतिशील हुन्छ। प्रत्येक युगका आफ्ना कार्यभार हुन्छन्। आजको युगमा सुशासन, समृद्धि र समुन्नत समाजवाद निर्माण हाम्रो कार्यभार हो। त्यसका लागि हामी नयाँ वैकल्पिक अभियानमा लागेका छौं।’

डा. भट्टराईले विगतमा माओवादी आन्दोलनले प्रयोग गरेका तीन हतियार- जनसेना, संयुक्त मोर्चा (जनपरिषद्) र पार्टीमध्ये दुई हतियारको पुनर्संरचना भइसकेको उल्लेख गर्दै अब पार्टीको पुनर्संरचना पनि ढिलाइ नगर्न सुझाव दिएका छन्। उनले अघिल्लो युगको विचारधारामा अल्झिनुभन्दा नयाँ सम्भावना र चुनौतीलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।

उनले सामाजिक परिवर्तनका निम्ति पार्टीलाई साधनका रूपमा प्रयोग गर्नुपर्ने र त्यसमार्फत नयाँ नेतृत्व, नीतिगत स्पष्टता र समावेशी लोकतन्त्रलाई अगाडि बढाउनुपर्ने धारणा राखेका छन्। ‘अब माओवादी विचारमा रमाउने होइन, इतिहासबाट सिकेर भविष्य निर्माणमा लाग्नुपर्छ,’ डा. भट्टराईले भने।

प्रकाशित: १३ असार २०८२ ७:४२ | Friday, June 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast