भारतीय दूतावासद्वारा लुम्बिनीमा योग प्रदर्शन सम्पन्न

हिमाल प्रेस ६ असार २०८२ १९:५५ | Friday, June 20, 2025
भारतीय दूतावासद्वारा लुम्बिनीमा योग प्रदर्शन सम्पन्न

काठमाडौँ- नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषको सहकार्यमा शुक्रबार लुम्बिनीमा योग प्रदर्शनको आयोजना गरेको छ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती तथा संघीय सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी उपस्थित थिए।

प्रदेश प्रमुख घर्ती र खेलकुदमन्त्री चौधरीले पवित्र लुम्बिनी भूमि योग जस्तो शान्तिपूर्ण अभ्यासको उपयुक्त स्थल भएको बताउँदै भारत–नेपालबीचको सांस्कृतिक सम्बन्ध सुदृढ गर्न मद्त पुर्‍याएकोमा भारतीय दूतावासलाई धन्यवाद दिए।

कार्यक्रममा लुम्बिनी विकास कोषका वरिष्ठ अधिकारीसहित त्यस क्षेत्रका पाँच सयभन्दा बढी योगप्रेमीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले योगको महत्वमाथि प्रकाश पार्दै यो अभ्यासको उत्पति भारतमा भएको उल्लेख गरे।

साथै उनले सन् २०१४ मा संयुक्त राष्ट्रसंघले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मान्यता दिएपछि योग एक विश्वव्यापी आन्दोलनमा रूपान्तरण भएको जिकिर गरे।

राजदूत श्रीवास्तवले लुम्बिनीलाई शान्ति र सद्भावको प्रतीकको रूपमा स्मरण गर्दै यस क्षेत्रलाई आध्यात्मिक तथा धार्मिक पर्यटन गन्तव्यको रूपमा प्रवद्र्धन गर्न योग कार्यक्रमहरूले योगदान पुर्‍याउने धारणा राखे।

लुम्बिनीमा सम्पन्न कार्यक्रम नेपालका विभिन्न सहरहरूमा आयोजना गरिएका ११ औँ अन्तर्राष्ट्रिय योग दिवसम्बन्धी कार्यक्रमको शृंखला रहेको दूतावासले जनाएको छ।

यसै क्रममा दूतावासले शनिबार पोखरा महानगरपालिकाको सहकार्यमा पोखरा रंगशालामा योग प्रदर्शन आयोजना गर्ने कार्यक्रम रहेको जानकारी दिएको छ।

प्रकाशित: ६ असार २०८२ १९:५५ | Friday, June 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast