बैतडी- भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ। कोभिड पुष्टि हुनेमा दुई पुरूष र एक महिला रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।
कञ्चनपुरको पुनर्वासका २० वर्षका युवक, अछामको ढकारीका ३२ वर्षीय युवक र कैलालीको धनगढीकी २४ वर्षीया महिलामा कोभिड पुष्टि भएको हो। उनले भने, ‘भारतको विभिन्न सहरबाट गौरीफान्टा नाका भएर स्वदेश फर्किरहेका शङ्कास्पद ३६ जनाको परीक्षण गर्दा तीन जनामा कोभिड पुष्टि भएको छ। कोभिड पुष्टि भएका सबैलाई होम आइसोलेसन बस्न भनेका छौँ।’
कोभिड पुष्टि भएका सबैको पीसीआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको निर्देशनालयका महामारी सम्पर्क व्यक्ति जोशीले जानकारी दिए। काठमाडौँमा पीसीआर परीक्षणपछि उनीहरूमा कोभिडको कुन भेरियन्ट रहेछ भन्ने पत्ता लाग्ने उनको भनाइ छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले सङ्क्रमणको महामारी निम्तन सक्ने साम्भव्यतालाई मध्यनजर गर्दै मातहातका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ। रासस
—

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 