 
                             
                                            काठमाडौँ- नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष तथा स्थायी शिक्षक हकहित मञ्चका केन्द्रीय संयोजक रमेशबाबु भट्टराईले संघीय नेतृत्वप्रति फरक मत राख्दै टिप्पणी गरेपछि संघले आफूलाई स्पष्टीकरण मागेकोप्रति आपत्ति जनाएका छन्। उनले शिक्षक संघभित्र आलोचनाको स्वरप्रति असहिष्णुता देखिएको बताउँदै नेपाली कांग्रेसको उदाहरण दिएका छन्।
भट्टराईले भनेका छन्,‘मुलुकको सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्रकै सांसदहरूले संसद्मै पार्टी नेतृत्वप्रति प्रश्न उठाउँदा उनीहरूलाई कारबाही नगरी बहसलाई स्वागत गरिन्छ तर म शिक्षक संघको कमजोरी औंल्याउँदा कारबाही र स्पष्टिकरण? यही हो लोकतन्त्र?’
उनले विशेषगरी कांग्रेस नेताहरू चन्द्र भण्डारी, कान्छाराम तामाङ, सुनिल शर्मा र शेखर कोइराला जस्ता सांसदहरूले संसद् र पार्टीभित्रै नेतृत्वप्रति खुलेर आलोचना गर्दा लोकतान्त्रिक व्यवहारको उदाहरण देखिएको बताए। भट्टराईको प्रश्न छ, ‘त्यो ठिक भयो भने मै गल्ती गरें? मलाई स्पष्टीकरण सोध्ने हो भने ती नेताहरूलाई के गर्ने?’
उनले शिक्षक संघभित्र नेतृत्वको भूमिका, शिक्षक आन्दोलनको समीक्षा, शिक्षकको माग तथा शैक्षिक गुणस्तरका विषयमा टिप्पणी गर्दा व्यक्तिगत आरोप हाेइन, संस्थागत समीक्षा गरेको स्पष्ट पारे। भट्टराईले थपे, ‘शिक्षक संघमा आलोचनालाई असह्य मान्ने हो भने त्यो संस्था लोकतान्त्रिक कसरी रहन्छ?’
उनको भनाइमा नेतृत्वको सबल र दुर्बल पक्षको विवेचना गर्नु कुनै अपराध हाेइन बरु संस्थागत सुधारको आधार हो। शिक्षकका माग, आन्दोलनको दिशा, सरकारको प्रतिक्रियामाथि टिप्पणी गर्नु नै नेताको धर्म भएको उनले उल्लेख गरे।
‘शैक्षिक आन्दोलनको समीक्षा आवश्यक छ। यसको प्रतिफल कस्तो रहन्छ समयले बताउनेछ। म शिक्षकका पक्षमा बोलिरहनेछु चाहे त्यसका लागि कारबाही नै किन नहोस्,’ भट्टराईले दोहोऱ्याए।
शिक्षक संघ संघीय कार्यसमितिले भने भट्टराईजस्ता सामाजिक सञ्जालमा नेतृत्वको आलोचना गर्ने शिक्षकहरूमाथि अनुशासनको कारबाही अघि बढाएको जनाएको छ। तर संघभित्रै यस विषयमा विचारको स्वतन्त्रता र लोकतान्त्रिक अभ्यासका विषयमा बहस चर्किदै गएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
 