 
                             
                                            काठमाडौँ- नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष तथा स्थायी शिक्षक हकहित मञ्चका केन्द्रीय संयोजक रमेशबाबु भट्टराईले बाल विकास शिक्षक, विद्यालय कर्मचारी र विद्यालय सहयोगीहरूमाथि राज्यले निरन्तर गर्दै आएको श्रम शोषणप्रति कडा आपत्ति जनाएका छन्।
उनले वर्तमान बजेटले नै शिक्षा ऐन आउने नआउने, आउने भए कस्तो स्वरूपमा आउँछ भन्ने कुरा प्रष्ट पारेको दाबी गर्दै भने, ‘धेरै अपेक्षा गर्नु र ललिपप देखाइदिंदा लठ्ठिनु हाम्रै गल्ती हो, अब आत्मसमीक्षा गर्नुपर्छ।’
सरकारले बाल विकास शिक्षकलाई मासिक १२ हजार, विद्यालय कर्मचारीलाई १५ हजार र विद्यालय सहयोगीलाई १० हजार रुपैयाँ तलब दिने निर्णय गरे पनि संयोजक भट्टराईले सो निर्णयलाई ‘श्रमको मूल्य नभएको अपमानजनक प्रस्ताव’ भन्दै घोर भत्सर्ना गरे। ‘यो तलब त होइन होला? ठूलै ढोल बजाएको आवाज सुनेको थिएँ,’ उनले कटाक्ष गरे, ‘यो अब सच्चिएर आउँछ होला कि होइन सरकार?’
भट्टराईले शिक्षकमाथिको कारबाहीप्रतिको असहमति पनि प्रकट गरे। नेपाल शिक्षक महासंघ लक्षित अभिव्यक्तिमा फरक मत राखेकै कारण कारबाहीको डण्डा चलेको भन्दै उनले यस्तो प्रवृत्तिको विरोध गरे।
‘अरूलाई दोष दिनु जरुरी छैन, अहिले म आफैँ कारबाहीमा छु,’ भन्दै उनले शिक्षा क्षेत्रमा देखिएको राजनीतिक हस्तक्षेप, असमान व्यवहार र श्रमिक वर्गमाथिको उपेक्षालाई अन्त्य गर्न माग गरे।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
 