 उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल/तस्बिर : रासस
                             उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल/तस्बिर : रासस
                                            काठमाडौँ– उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्न आग्रह गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले बजेटको घोषणामात्रैले नपुग्ने र त्यसको प्राण कार्यान्वयनमा रहने कुरामा सरकार स्पष्ट रहेको बताए। बजेटको कार्यान्वनमा सम्वद्ध मन्त्रालय र आयोजना प्रमुखहरुलाई जवाफदेही बनाइने उनले उल्लेख गरे।
पौडेलले बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न योजना तयार गरेर अघि बढ्ने जानकारी दिए। उनले बजेट निर्माणमा स्रोतको प्रस्ताव कार्यान्वयनयोग्य हुनुपर्नेमा आफू होसियार भएको धारणा राखे। त्यस्तै उनले आगामी आर्थिक वर्षको बजेटमा तीन करोड रुपैयाँभन्दा कम लागतका नयाँ आयोजना नराख्ने सरकारको नीति रहेको उल्लेख गरे। यद्यपि सम्पन्न हुने अवस्थामा पुगेका आयोजनाहरूमा भने तीन करोडभन्दा कम रकम विनियोजन गर्नु परेको उनको भनाइ छ।
मन्त्री पौडेलले निजी क्षेत्रलाई विद्युत उत्पादन र व्यापार गर्न खुला गर्ने गरी विद्युत विधेयक सदनमा विचाराधीन रहेको भन्दै उक्त विधेयक पारित भएपछि विद्युत प्राधिकरणले मात्रै विद्युत बिक्री गर्नुपर्ने अवस्थाको अन्त्य हुने उल्लेख गरे। अब निजी क्षेत्रले समेत विद्युत व्यापार गर्न पाउने भएकाले टेक एन्ड पे को चिन्ता नगर्न उनले आग्रह गरे।
अर्थमन्त्री पौडेलले ऋणको सन्दर्भमा वित्त आयोगले निर्धारण गरेको ५ दशमलव ५ प्रतिशतको सीमा भन्दा कम ५ प्रतिशत ३ प्रतिशतमात्रै आन्तरिक ऋण उठाउने प्रस्ताव गरिएको जानकारी दिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 