पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ सुरक्षाकर्मीको मृत्यु

हिमाल प्रेस १४ असार २०८२ २०:५९ | Saturday, June 28, 2025
पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ सुरक्षाकर्मीको मृत्यु फाइल तस्बिर

काठमाडौँ– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान जिल्लामा शनिबार भएको एक आत्मघाती आक्रमणमा परी १६ जना सुरक्षाकर्मीले ज्यान गुमाएका छन् भने तीस जना भन्दा बढी व्यक्ति घाइते भएका छन्।

घाइतेहरूमा सर्वसाधारण, प्रहरी कर्मचारी र बालबालिकासमेत रहेका छन्।

स्थानीय प्रशासनका एक अधिकारीका अनुसार विस्फोटक पदार्थले भरिएको सवारी साधन एक सैनिक गाडीको समूहमा ठोक्किएको थियो। प्रारम्भमा १३ जनाको मृत्यु भएको बताइएको भए पनि पछिल्लो विवरणअनुसार १६ जनाको ज्यान गएको पुष्टि गरिएको छ।

विस्फोटको कारणले नजिकका दुईवटा घरका छाना भत्किँदा छ जना बालबालिका घाइते भएको प्रहरी स्रोतले जानकारी दिएको छ।

यो आक्रमणको जिम्मेवारी हाफिज गुल बहादुर समूह अन्तर्गतको आत्मघाती हमला समूहले लिएको बताइएको छ, जुन पाकिस्तानमा क्रियाशील एक सशस्त्र संगठन हो।

सन् २०२१ मा अफगानिस्तानमा तालिबान पुनः सत्तामा पुगेपछि पाकिस्तानका सीमावर्ती क्षेत्रमा हिंसात्मक घटनाहरूमा तीव्र वृद्धि भएको छ। पाकिस्तानले यस्ता आक्रमणहरूका लागि अफगान भूमि प्रयोग भएको आरोप लगाउँदै आएको छ। यद्यपि अफगान सरकारले यो आरोप अस्वीकार गर्दै आएको छ।

एएफपीको संकलन अनुसार सालको सुरुदेखि अहिलेसम्म खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा भएका विभिन्न हिंसात्मक घटनामा झण्डै २९० जनाले ज्यान गुमाइसकेका छन्, जसमा अधिकांश सुरक्षाकर्मी रहेका छन्।-रासस/एएफपी

प्रकाशित: १४ असार २०८२ २०:५९ | Saturday, June 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast